काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशव्यापी रूपमा सुरु गरेको कला गतिविधि यतिबेला मधेश प्रदेश पुगेको छ । मधेश प्रदेशका विभिन्न स्थानमा गएर कलासम्बन्धी कार्यशाला सम्पन्न भएका हुन्।
जसमध्ये, शनिबार प्रतिष्ठानले ललितकला विषयक अन्तरक्रिया तथा एक दिवसीय भोजपुरी लोककला कार्यशाला सम्पन्न गरेको छ । त्रिजुद्ध महावीरप्रसाद रघुवीरराम मावि बिर्ता विरगञ्ज–४ पर्सामा भएको कार्यशालामा बालबालिकाको उपस्थिति थियो । अजमत प्रडक्सन, नेपाल भोजपुरी समाज विरगञ्ज पर्सा र मैथिली विकास कोष, जनकपुरधामको सहकार्यमा गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘ललितकला र यसको महत्व’ विषयमा प्रस्तुति दिए ।
उनले प्रतिष्ठानको उद्देश्य, गतिविधि र योजनाका विषयमा जानकारी गराउँदै प्रतिष्ठानले देशभरि गरेका चित्रकला, मूर्तिकला, लोककला, शिल्पहस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवर्द्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको बताए ।
सो अवसरमा वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले भोजपुरी लोककलाको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय समुदाय, पालिका, सरकार, प्रदेश सरकार तथा संघीय सरकारको समन्वयमा कार्य गरिनुपर्ने धारणा राखे । प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले भोजपुरी लोककलाको उन्नतिका लागि प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको बताए । प्रतिष्ठानका प्राज्ञसभा सदस्य अजमत अलि अन्सारीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले भोजपुरी लोककलाको विकासमा सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी, विरगञ्ज भोजपुरी प्रतिष्ठानका अध्यक्ष अनिता साह, नेपाल कमर्सियल संघ विरगञ्जका सचिव रामनरेश चौरासिया, विरगञ्ज संगीत कला परिषद्का उपाध्यक्ष शाविर हुसैनलगायतको उपस्थिति थियो । कार्यशालामा नयाँ तथा पुराना पुस्ताका ३० जना कलाकारको सहभागिता थियो ।