तम्घास- मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी खण्डका सडक किनारका झाडी सरसफाइ नहुँदा दुर्घटनाको जोखिम बढेको छ । जिल्ला सदरमुकाम तम्घासबाट सिमटारीसम्म पर्ने उक्त पक्की सडक किनारमा घाँस, स–साना रुख, बिरुवा र पातपतिङ्ग उम्रिँदा दुर्घटनाको जोखिम बढेको हो ।
अहिले सडकको छेउकुनामा घाँस, रुख, बिरुवा उम्रने, पातपतिङ्गर ढलमा गएर जम्मा हुनेलगायत समस्या देखिएको छ । ढल तथा नाला व्यवस्थापन नहुँदा वर्षायाममा पानी नालीबाट नभई सडकबाट बग्दा बीचबीचमा खाल्डा परेका छन् । वर्षायाममा गएको पहिरो र बाढीले बगाएर ल्याएको फोहर सफा नगर्दा सडक साघुँरिँदै गएको स्थानीय बताउँछन् । तम्घासबाट सिमलटारीसम्म पाँच मिटर चौडाइको २८ किमी उक्त सडक छ वर्षअघि विसं २०७६ मा स्तरोन्नति गरिएको थियो । कुल रु ८७ करोड ९१ लाख रकममा निर्माण गरिएको उक्त सडकबाट पुर्कोट दह, प्युठानलगायत स्थान पुग्ने सवारीसाधन सञ्चालन हुन्छन् ।
अहिले सडकको छेउकुनाबाट घाँसपात, स–साना रुख, पातपतिङ्गर पलाउँदा सडकको सौन्दर्य मेटिन थालेको इस्मा गाउँपालिका–६ का सुजन विष्टले बताए । “दुईतर्फी सवारी सञ्चालन हुनुपर्नेमा सडक साँघुरिँदा एकतर्फी मात्र सञ्चालन भइरहेको छ”, उनले भने, “सोही कारणले सडक दुर्गन्धित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ ।” उनले वर्षायाममा गएको पहिरो र बाढीले बगाएको फोहर नहटाउँदा सडक साँघुरिएको बताए । सडकको माथिबाट आएको पहिरोले साँघुरो भएको भन्दै सम्बन्धित निकायले ध्यान नदिँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।

धुर्कोट गाउँपालिका–५ का गणेश पाण्डेले सडकमा गएको पहिरो र छेउछेउमा उम्रिएका घाँसपात हटाएर सफा गर्न सरोकार भएका निकायलाई आग्रह गरे । “सडक सफा गरे दुइतर्फी सवारी सञ्चालनमा सजिलो हुन्थ्यो, हामी मोटरसाइकल लिएर हिड्नेलाई पनि सजिलो हुन्थ्यो”, उनले भने । सोही राजमार्गमा सवारी व्यवसाय सञ्चालन गर्दै आएका चालक राजु खत्रीले सडकमा भएको लाहापरवाहीले गर्दा तोकेको समयमा यात्रुलाई सम्बन्धित गन्तव्यमा पुर्याउन नसकिएको गुनासो गरे । उम्रिएका घाँसपात सफा नगर्नु, वर्षायाममा गएको पहिरो नहटाउनु, सडकको बीचमा परेका खाल्डाखुल्डीको व्यवस्थापन नगर्नुलगायत कारणले यात्रु र सवारी धनी दुवैलाई यात्रामा सास्ती हुने गरेको उनको भनाइ छ ।
बिरामीलाई समयमा अस्पताल पुर्याउनुपर्नेमा कहिलेकाँही सडक साँघुरो भएकाले कारण बाधा हुँदै आएको खत्रीले बताउनुभयो । सडकमा भएका खाल्डाखुल्डीले सवारीसाधन बिग्रने समस्या देखिन थालेको उनको भनाइ छ । तम्घासबाट सिमलटारीसम्म २८ किमीअन्तर्गत रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मालिका गाउँपालिका पर्दछन् । उक्त खण्ड भएर ती पालिकाका साथसाथै मदाने गाउँपालिका– ढोरपाटन हुँदै प्यूठानसम्मका दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिकले यात्रा गर्छन् ।
सडकको स्वामित्व पाएको मदन भण्डारी राजमार्ग, गुल्मीले उक्त खण्डमा दुई जना कामदार खटाएर काम भइरहेको जनाएको छ । कामदार पर्याप्त नहुँदा उनीहरूले निश्चित क्षेत्रमा काम गरेपनि सबैतिर सफाइ नभएको स्थानीयको गुनासो छ । कार्यालय प्रमुख रमेश चौधरीले सडकको निश्चित खण्डमा ठेक्कामार्फत काम भइरहेको बताए । अहिले निश्चित ठाउँमा मात्रै कामदारले झाडी सफाइ गरे पनि अन्य ठाउँमा यथाशीघ्र कामसक्नेगरी योजना बनाइएको उहाँले जानकारी दिए ।