काठमाडौं– सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए । अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका विरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।
जलनका विरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका विरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।