कैलाली– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमअन्तर्गत जिल्लागत कार्यक्रमको एकीकृत पुस्तक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरेको छ । आज प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानासहितको टोलीले मुख्यमन्त्री शाहलाई उक्त पुस्तक हस्तान्तरण गरेको हो ।
पुस्तक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहले पुस्तकले प्रदेश सरकार र नागरिकबीच विकासको सेतुका रूपमा कार्य गर्नेमा विश्वास व्यक्त गरे । उनले यसले सुशासन प्रवर्द्धन गर्दै सरकारको विकास रणनीति र लक्ष्य प्राप्तिमा सहयोग पुर्याउनाका साथै नागरिकलाई बजेट र कार्यक्रमका बारेमा जानकारी दिने बताए । पुस्तकले सरकारप्रति नागरिकको विश्वास र उत्तरदायित्वलाई अझ सबल बनाउनमा थप सहयोग पुग्ने उनको भनाइ छ ।
प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले प्रत्येक वर्ष प्रदेश सभाबाट बजेट पारित भएपछि वार्षिक विकास कार्यक्रम प्रकाशन गर्दै आएको छ । यस वर्षदेखि प्रदेश नीति तथा योजना आयोगले नौवटै जिल्लाका जिल्ला समन्वय समिति र ८८ वटै स्थानीय तहका निकायगत तथा जिल्लागत कार्यक्रम, नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयक तथा कार्यक्रम र बजेटलाई समेटेर सङ्क्षिप्त पुस्तक प्रकाशन गरेको हो ।