भोजपुर- भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवद्र्धन थालेको छ । गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो ।
कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ । कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुन्छ । अहिले उहाँले २० रोपनीमा क्षेत्रमा कोगटीखेती गरिरहेका छन् ।
कोगटीबाट बनेको खैरो कपडा महङ्गो पर्ने उहाँको भनाइ छ । उहाँले यसको खेतीबाट गत वर्ष मात्र रु तीन लाख ५० हजार आम्दानी गरेको बताए। कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ । त्यसलाई तानमा लगाएर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ । बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताए । १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उनले बताए ।
गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका लागि औजार–उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । सङ्घीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त रु ३० लाख बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान–चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ ।
यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा रु २५ लाख बराबरको कोगटीखेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । वडा नं ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी खेती हुने गरेको छ । यहाँका २५–३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।