काठमाडाैं - पत्रकार महासंघमा विवाद भएपछि बैठक स्थगित भएकाे छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विधानविपरीत कार्य गरेको र महासंघले विगतमा गरेका निर्णय कार्यान्वयनमा बेवास्ता गरेको भन्दै पदाधिकारी र सदस्यहरूले विरोध जनाएपछि बस्दै नबसी बैठक स्थगित भएकाे हाे ।
सल्लाहकार मनोनयनका विषयमा एक वर्षदेखि विवादमा फसेको नेपाल पत्रकार महासंघको नियमित बैठक समेत गर्न नसक्ने अवस्थामा पुगेको छ। यसअघि धुलिखेल र पोखरामा बसेको महासंघका बैठकमा सल्लाहकार मनोनयनका विषयमा छलफल हुँदा विवाद भएपछि बैठकले अध्यक्ष शर्मालाई वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीसँग परामर्श गरी टुंगो लगाउन जिम्मेवारी दिएको थियो। लामो समयसम्म पनि अध्यक्ष शर्माले त्यसबारे कुनै परामर्श र छलफल गर्न नचाहेको र निर्णय नलिएपछि यसपटक बैठकअघि नै टुंगो लगाउनुपर्ने भन्दै सचिव सोनी शर्मा र कोषाध्यक्ष रामकृष्ण अधिकारीले अध्यक्ष शर्मालाई ज्ञापन पत्र नै दिएका थिए।
त्यस्तै, महासंघको संस्थापकका विषयमा उठेका प्रश्नबारे अध्ययन गर्न २७औँ महाधिवेशनले नै अध्यक्षलाई जिम्मेवारी तोकेको विषयमा काम नभएको भन्दै सचिव सविन प्रियसनले पनि ज्ञापनपत्र बुझाएका थिए। तर अध्यक्ष शर्माले यी दुवै विषयलाई एजेण्डाकोरुपमा उल्लेख नगरी शनिबारको बैठक बोलाएकी थिइन्। बैठकका लागि एजेण्डा तय गर्नुपर्ने र विगतमै छलफल भइसकेका विषयमा निर्णयसहित बैठकमा जानुपर्ने पदाधिकारीहरूको अडानमा अध्यक्ष शर्माले विधानविपरीत र आफ्नै पदाधिकारीको सहमतिबिपरीत अघि बढ्ने कोसिस गर्दा महासंघको बैठक बस्दै नबसी स्थगित भएको थियो।
महासंघमा सामान्यत: बैठक बोलाउँदा महासचिवले पत्राचार गर्ने अभ्यास छ। तर शनिबार भने अध्यक्ष शर्माले पटक-पटक केन्द्रीय समिति बैठकमा छलफल भएर विवादित बनेको सल्लाहकारको विषयमा कुनै परामर्श नगरी कसैलाई जानकारी समेत नदिई सल्लाहकारका रुपमा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको स्वकीय सचिव समेत रहेका महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विपुल पोखरेल र निकटतम प्रत्यासी रमेश विष्टलाई सल्लाहकारकारुपमा पत्राचार गरेकी थिइन्।

विधान मिचेर केन्द्रीय पदाधिकारीसमेतलाई बेखबर राखेर गरिएको अध्यक्ष शर्माको पत्राचारमा बैठक हल पुगेका आचार्य र विष्ट केहीबेर बसेर विवाद हुने देखेपछि फर्किएका थिए। महासचिव रामप्रसाद दाहालले केन्द्रीय समिति बैठकमा दुई पटकसम्म छलफल भएर निर्णय हुन नसकेको विषयमा विधान विपरीत सामान्य परामर्श समेत नगरी अध्यक्ष शर्माले सल्लाहकारलाई पत्राचार गरेका कारण बैठक बस्न नसकेको बताए। 'यो कुनै व्यक्तिको विषयमा नभई विधि र प्रक्रियाको कुरा हो। धुलिखेल र पोखरामा अध्यक्षले निर्णय लिन सक्नुभएन। केन्द्रीय समितिले परामर्शमा अध्यक्षले सल्लाहकारको विषयमा निर्णय लिने भन्ने म्याण्डेड दिएको थियो। तर विवादित विषयमा सामान्य परामर्श समेत नगरी उहाँले विधानविपरीत एकलौटी गर्दा समस्या भएको हो,' दाहालले भने, 'उहाँले पदाधिकारी बैठक गर्न र त्यहाँ आफूले सल्लाहकार बोलाएको विषय जानकारी दिनु समेत उपयुक्त ठान्नुभएन। त्यसैले विवाद बढेको हो ।' महासचिव दाहालले महासंघ सबैको साझा संस्था भएकाले सबैको भावनालाई सम्मान गर्दै सहमतिबाट अघि बढ्नुपर्नेमा आफूहरूले जोड दिएको बताए।
महासंघका सचिव सविन प्रियसनले सामुहिकता र एकताको भावनाबाट समाधान खोज्नपर्नेमा त्यस्तो प्रयास नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, '....आफ्नै राजी खुसीले चलाउन न अध्यक्षले पाउँछ, न कुनै पदाधिकारीले, न सदस्यले। तसर्थ पत्रकार महासङ्घको गौरवमय इतिहास र यात्रालाई बर्करार राख्न विधि र विधान भन्दा माथि कोही जानु हुँदैन।'स्रोतका अनुसार महासंघका सदस्य लवदेव ढुंगानाले यसअघि नै अध्यक्ष शर्माले विवादित विषयलाई टुंगो लगाउन छलफल नै नगरेको विरोधमा महासंघमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए। अध्यक्ष शर्माको अकर्मण्यताको विषयमा विगतका बैठकहरूमै प्रश्न उठेको थियो।
मुलत: सल्लाहकारको विषयमा विवाद देखिए पनि महासंघ अध्यक्ष शर्माले एकलौटी र मनपरी गर्दा त्यसका विरुद्ध एकजुट हुनुपरेको अर्का एक पदाधिकारीको भनाइ छ। 'सतहमा सल्लाहकारको विषय विवादकोरुपमा देखियो। तर यथार्थमा अरू पनि धेरै कुरा छन्, जसका कारण अध्यक्षको कार्यशैली र प्रवृत्तिमाथि प्रश्न उठेका छन्,' ती पदाधिकारीले भने। उनका अनुसार अध्यक्ष शर्माले आफ्नो अनुकुलता र राजनीतिक स्वार्थ पूरा नहुने अवस्थामा महासंघमा कुनै पनि गतिविधि हुन नदिने गरेकी छन्। यसअघि पनि महासंघमा अध्यक्षको कार्यशैलीकै कारण पटक पटक विवाद हुँदै आएको थियो।
केही साताअघि तिलगंगा आँखा अस्पतालसहित १० वटा एनजिओहरूसँगको सहयोगमा आँखा शिविर सञ्चालन गर्ने विषयमा पनि विवाद भएको थियो। अध्यक्ष शर्माले वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्षसहितका पदाधिकारीको असहमतिमा महासंघमा आँखा शिविर चलाएकी थिइन्। सामाजिक सञ्जाल विधेयक, तीनकुने घटना, मिडिया काउन्सिल विधेयक र छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावलीमा समेत अध्यक्ष शर्मा र अन्य पदाधिकारीबीच मतभेद भएको थियो।
अध्यक्ष शर्माले भने आफूलाई पदाधिकारीहरूले असहयोग गरेको गुनासो गर्दै आएकी छन्। यसअघि सञ्चारिका समूहको नेतृत्व गरेकी शर्मालाई महासंघमा पदाधिकारी रहेर काम गरेको अनुभव समेत छैन। उनले महासंघको गरिमा र कार्यशैली नबुझेका कारण महासंघमा गतिरोध भएको आरोप लागिरहेका बेला अध्यक्ष शर्माले भने आफूलाई महिला अध्यक्ष भएकाले अरूले अस्वीकार गरेको भन्दै गुनासो गर्ने गरेकी छन्।