काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेहः थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।
अन्तरराष्ट्रिय डायबेटिज सङ्घका अनुुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कूल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्यांक छ । मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा(रेटिना)मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् ।
आँखा रोग विशेषज्ञ(भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताए । उनले डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताए ।
डा थापाले भने,'डायबेटिक रेटिनोप्याथीको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ । सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले छ/छ महिनामा नभए वर्षमा एकपटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुन्छ ।'