यतिबेला नयाँ दल दर्ता गर्ने लहड नै चलेको छ । निर्वाचन आयोगमा धमाधम दल दर्ताका लागि पुगिरहेका छन् । जेन–जी विद्रोहपछि २१ नयाँ दल यो प्रक्रियामा सामेल भएका छन् । यो बीचमा केही दल दर्ता भइसकेका छन् भने केही दलले सनाखत सुरु गरेका छन् । आइतबारसम्ममा दलको संख्या अझ बढ्ने देखिन्छ । कात्तिक २ सम्म निर्वाचन आयोगमा १२४ दल दर्ता थिए । तीमध्ये दुई दल यो वर्षको असोजमा दर्ता भएको देखिन्छ ।
जेन–जी विद्रोहको मुख्य मुद्दा हो देशमा सुशासन स्थापित गर्नु । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र स्थिरता स्थापना गर्नु विद्रोहको अर्को माग हो । यसका लागि जरा गाडेर बसेका पुराना दलहरुलाई परास्त गर्न सक्ने शक्ति आजको आवश्यकता हो । तर दल दर्ताको लाम हेर्दा परिवर्तनकारी शक्तिहरु एक भएको देखिन्न । जेन–जी समूह विभिन्न गुटमा टुक्रिएर फरक–फरक दल दर्ताको चरणमा प्रवेश गरेको देखिन्छ ।
अहिलेको राजनीतिक संक्रमणलाई समाधानतिर लैजाने शक्ति युवा नै हुन् । राजनीतिमा युवाको चासो र मतदानमा सहभागी हुने आकांक्षाले यो देखाउँछ । तर दल दर्ता प्रक्रियामा जुन किसिमको तीव्रता छ, यसले परिवर्तनलार्ई संस्थागत गर्न उनीहरु तयार देखिन्नन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (अहिले नेपाली कम्युनिस्ट पार्टी) नेपालका मुख्य शक्तिशाली दल हुन् ।
यी दलकै कारण जेन–जी विद्रोह भएको थियो । तर अहिले जेन–जीको टुटफुट हेर्दा आउँदो निर्वाचनबाट यिनै शक्ति पुनः उदय हुने संकेत देखिन थालेको छ । माओवादी केन्द्र आफूलाई शक्तिशाली बनाउन विभिन्न शक्तिसँग एकता गरेर नेपाली कम्युनिस्ट नाममा आउँदै छ । यो परिवर्तनकारी शक्तिका लागि ‘थ्रेट’ हो ।
नेतृत्वमा तीनै दलका पुराना नेताहरु पुनः आउने देखिन्छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न उनीहरु फिटिक्कै सकारात्मक देखिन्नन् । भदौ २३ गतेको विद्रोहलाई छोपेर तीन दल भदौ २४ को घटनालाई मात्र ‘प्रोभोक’ गरिरहेका छन् । यो विद्रोहमा भएको सरकारी दमनलाई निष्पक्ष अनुसन्धान गर्न गठन भएको उच्चस्तरीय आयोगलाई कर्मचारीले सहयोग गरिरहेको छैन ।
यसैले पनि आन्दोलनमा एकजुट भएकाहरु फेरि एकजुट हुनुपर्ने अवस्था आएको छ । एकतामै बल हुन्छ भन्ने विषय सबैलाई थाहै छ । यस्तो नभए यसअघिका साना दलहरुकै हबिगत नयाँ दलको हुने छ । जसले शक्तिका लागि पुरानै दलसँग झुक्नुपर्ने र विद्रोहबाट प्राप्ति खेर जाने पक्का छ । यसरी दल खोलेर नयाँ जोगी बन्नुभन्दा सबै एकजुट भएर बलियो शक्ति निर्माण गरी सुशासन कायम गर्ने कार्यदिशा बनाएर अघि बढेको धेरै राम्रो ।