काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरी सेवामा रहँदा देखाएका बौद्धिकता र पेसाप्रतिको दक्षताले प्रहरी कर्मचारीको मनोबल उच्च रहेको बताएका छन् ।
तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका खापुङलाई गृह मन्त्रालयमा बिदाइ गर्दै गृहमन्त्रीले अवकाश जीवनपछि पनि उहाँको अनुभव राष्ट्रलाई खाँचो रहेको बताए । उनले भने, “अवकाश हुँदैमा छुट हुँदैन, राष्ट्रिय जीवनमा तपाईंहरुको योगदान यो मुलुकले अपेक्षा गरिरहने छ ।”
गृहसचिव रामेश्वर दङ्गालले प्रहरी सङ्गठनको नेतृत्वमा रहेर खापुङले देखाएको कार्यकुशलता प्रसंशनीय रहेको बताएकाे गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रहरी महानिरीक्षक खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रति निष्ठा भाव र लगनशीलता महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।