नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘हेट स्पिच’ दिन माहिर छन् । आफ्नै निकट नेताहरुको नाम लिएर ‘मुख कुल्ल गर्छु’ भन्ने ओलीकै कारण देशमा जेन–जी विद्रोह भयो । ज्याद्रो स्वभावका कारण ओली नेतृत्वको सरकारले दुई दिनको आन्दोलन नै धान्न नसकेर ढल्यो । सेनाको हेलिकप्टरमा भागेका उनले बल्लबल्ल बासको ठेगान पाए भक्तपुरको गुण्डुमा । गुण्डुमा उनले आफ्नो सुरक्षाका लागि युवा संघका नेताहरुलाई रातदिन उतारेका छन् । जसकारण त्यहाँको वातावरण नै त्रासमय बनेको छ ।
जेन–जी विद्रोहमा संलग्न र परिवर्तनका पक्षधरले ओलीको गिरफ्तारी खोजिरहेको छ । तर निर्वाचनको म्याण्डेट पाएको सरकारले दलहरु नभड्किउन् भनेर मौन बसेको देखिन्छ । ओली भने दिनानुदिन सरकारलाई निहुँ खोज्ने गतिविधिमा उत्रन थालेका छन् । सोमबारमात्र ओलीले मधेसको शान्ति बिथोल्ने प्रयास गरे । प्रक्रियामा गएर मुख्यमन्त्री नियुक्त गर्नुपर्नेमा आफूनिकट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रयोग गरी आफ्ना दलका सांसद सरोज यादवलाई मुख्यमन्त्री बनाउन लगाए । यतिबेला जसले जे गरे पनि हुने शैलीमा प्रस्तुत हुन थालेका छन् जनता । यहीबेला आगो झोस्ने काममा उत्रेका देखिन्छन् ओली ।
यही घटनाका कारण मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय तोडफोड भयो । यद्यपि दलहरुले संयमता अपनाएका कारण थप क्षति हुन पाएन । जनमत पार्टीका अध्यक्ष सिके राउत यही मौकामा स्वायत्त मधेसको माग उठाइरहेका छन् । हरेक वर्ष सुरक्षा संयन्त्रबाट छठपछि मधेसमा दंगा मच्चिने रिपोर्ट प्रस्तुत हुन्छ । यस्तै हल्ला दुर्गा प्रसाईंले फैलाइरहेका छन् । जुनसुकै बेला जहाँ पनि हुलदंगा गर्न सकिने पात्र हुन् प्रसाईं ।
पछिल्लो दिनमा उनी काठमाडौंको सुकुम्बासी बस्ती पुगेर काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध उत्रन उक्साइरहेका छन् । उनलाई नै माथ खुवाउनेगरी एमाले अध्यक्ष ओलीले सोमबार ‘घर फर्क अभियान’ कार्यक्रममा अन्तरिम सरकारका मन्त्रीहरुलाई नबोल्न चेतावनी दिए । यतिमात्र हैन उनले अब आफूहरु निजी कलेजमा पस्ने धम्कीसमेत दिए । जेन–जी विद्रोहलाई ओलीले उपद्रव भने । आफ्नो समर्थनमा सामाजिक सञ्जालमा लाइक, कमेन्ट गर्न उर्दी जारी गरे ।
तानाशाह शैलीमा उत्रेसँगै जनआक्रोशका कारण सरकारबाट अपदस्त बने पनि उनी फेरि उही शैलीमा प्रस्तुत भइरहेका छन् । दलीय व्यवस्थाबाट वाक्क भए पनि पछिल्ला दिनमा दलहरुको आवश्यकता जनताले महसुस गरेका छन् । यद्यपि, फेरि पनि जनआक्रोश फैलाउने गरी ओलीको बोली चर्किन थालेको छ । लोकतन्त्रका लागि यो राम्रो संकेत हैन । त्यसैले व्यवस्था सुधार्नेतिर लाग्ने हो भने एमालेका नेताहरुले ओलीको बोलीमा लगाम लगाउनु आवश्यक भइसक्यो ।