काठमाडौंको दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा यती समूहलाई लिजमा दिँदा कौडीको भाउमा दिएको चर्चा उतिबेलै चलेको थियो । कारण काठमाडौंको केन्द्र मानिएको दरबारमार्गमा रहेको एक रोपनी १४ आना जग्गालाई ३० वर्षका लागि जम्मा एक अर्ब ४० करोड रुपैयाँ भाडामा । यती समूहमा नेतृत्व गरिरहेका आङछिरिङ शेर्पाको थामसेर्कु ट्रेकिङ प्रालिले सुरुमा छ अर्ब २६ करोड रुपैयाँको प्रस्ताव बुझाएकोमा पछि एक अर्ब ४० करोडको प्रस्ताव पारित भएको थियो । १४ असार २०७३ मा बोलपत्रको सूचना जारी भएपछि वैशाख २०७४ मा थामसेर्कुको प्रस्ताव स्वीकृत भएको थियो ।
यो प्रतिस्पर्धामा थामसेर्कुसहित छ कम्पनीले भाग लिएका थिए । अरु कम्पनीले कम भाडा प्रस्ताव गरेको सूचना ट्रस्टले थामसेर्कुलाई दिएपछि कम रकम कबोल गर्न लगाइएको देखिन्छ । यो सम्झौतामा चार अर्ब ८६ अर्ब रुपैयाँ घोटला भएको अनुमान प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)को छ । यसै आरोपमा ट्रस्टका पूर्वसचिव लेखबहादुर कार्कीलाई सिआइबीले पक्राउ गरेको छ ।
महालेखापरीक्षकको कार्यालयले उतिबेलै नियमसंगत नदेखिएको भन्दै प्रतिवेदनमा भने पनि त्यतिबेला शक्तिको आडमा उक्त प्रकरणलाई गुपचुप राखिएको थियो । खासगरी यती समूहका सञ्चालक एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट व्यवसायी मानिन्छ । यो समूहका नेता आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि अहिले थामसेर्कु उनका भाइ लक्पासोनाम शेर्पाले सञ्चालन गर्दै आएका छन् ।
थामसेर्कुले यो सम्झौतामा कुनै पनि भ्रष्टाचार नभएको विज्ञप्तिमार्फत दाबी गरेको छ । तर ट्रस्टका पूर्वसचिव कार्कीलाई खआठ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाइसकेको छ । पूर्वराजा वीरेन्द्र शाह र उनका परिवारको नाममा रहेको जग्गा गणतन्त्रपछि नेपाल ट्रस्टको नाममा ल्याइएको थियो । सोही जग्गा बुट प्रणाली (सम्झौता अवधि सकिएपछि दोस्रो पक्षले निर्माण गरेको संरचनासहित जग्गा स्वतः पहिलो पक्षको अधीनमा आउने) गरी लिजमा लिइएको थियो ।
नेपाल ट्रस्टको नाममा गएको अधिकांश जग्गा यती होल्डिङसले भाडामा पाएको छ । गोकर्ण फरेस्ट रिसोर्टको विषयमा पनि त्यस्तै निर्णय गर्दा ओली नेतृत्वको सरकारको चौतर्फी विरोध भएको थियो । तर त्यतिबेला राजनीतिक शक्तिका कारण सामसुम पारिएको थियो । अहिले जेन–जी विद्रोहपछि बनेको सरकारले पुरानो फाइल पल्टाएसँगै यो प्रकरणमा अनुसन्धान हुने भएको छ । यो फाइल खोलेसँगै सिआइबीको नेतृत्वमा रहेका एआइजिपी मनोज केसीले ओलीसँग शनिबार साँझ दुई घण्टा भेटेका छन् । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने दौडमा केसीले यो केससँग पद नसाटोस् । छानबिन निष्पक्ष होस् ।