काठमाडौं– नेपाल ‘जेनजी फ्रन्ट’ले राष्ट्रिय परिचयपत्रको तथ्यांकका आधारमा निर्वाचनमा केन्द्रमै ‘बायोमेट्रिक्स’ रुजु गरेर मतदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।
मतदाता नामावली सङ्लनमा देखिएको सीमितताले बालिग मतदातामा उत्साह नदेखिएको जनाउँदै फ्रन्टले आगामी निर्वाचनमा नागरिकको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेको हो । 'राष्ट्रिय परिचयपत्रमार्फत नागरिकले एकपटक बायोमेट्रिक्स विवरण दिइसकेको अवस्थामा त्यसैका आधारमा मतदान गर्न दिँदा फर्जी मतदानको समस्या नहुने र मतदातालाई समेत सहज हुने भएकाले जनमुखी र समाधानमुखी काम गर्न सम्बद्ध सबैमा अपिल गर्दछौँ', फ्रन्टका संयोजक रक्षा बमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन गरिरहेको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि बायोमेट्रिक्स गर्न जिल्ला सदरमुकाम पुग्नुपर्ने जटिलताले मतदातामा उत्साह नथपेको संयोजक बमको भनाइ छ ।
निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म नयाँ मतदाता दर्ता गर्न सकिने जनाएको छ । अहिलेसम्म जम्मा एक लाख ३६ हजार मात्र नयाँ मतदाताले नामावली दर्ता गरेका छन् ।