एएफपी- विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार बताएका छन् ।
उनले कोप–३० सम्मेलनका अवसरमा ब्राजिलमा विश्व नेताहरूसँगको एक छलफलमा भने, “हामी तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने आफ्नो वाचामा ‘असफल’ भएका छौँ । यो विश्वका सवै राष्ट्रको लागि ठूलो लागत र विनाशको कारक बन्नेछ।”
कोप–३० जलवायु वार्ता अघि बेलेममा भएको नेताहरूको शिखर सम्मेलनमा गुटेर्रेसले भने “दशकौँको ढिलाइ र अस्वीकारको अर्थ पेरिस सम्झौताको सबैभन्दा महत्वाकाङ्क्षी लक्ष्य, पूर्व–औद्योगिक युगदेखि तापक्रम १.५ डिग्रीभन्दा कम वृद्धिमा राख्ने अवस्था सुनिश्चित गर्न हामी असफल भएका छौँ।”
“यो नैतिक असफलता हो र घातक लापरवाही हो,” उनले भने। उनले थपे, “विश्वले जीवाश्म इन्धनहरू चरणबद्ध रूपमा बन्द गर्नेजस्ता द्रुत कार्यहरूद्वारा अझै पनि क्षतिलाई कम गर्न सक्छ तर यसका लागि सबैको तत्परता आवश्यक छ।”