भदौ २३ को जेन–जी विद्रोहको मुख्य एजेण्डा हो, सुशासन । जताततै भ्रष्टाचार व्याप्त भएसँग आक्रोशले सिर्जना भएको यो विद्रोह दलका नेताहरुले बिर्सन थालेका छन् । शासन व्यवस्थामा तीन दशकयता तीन नेता शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् । यी तीनै जना देशको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र (बुधबारबाट नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण) को नेतृत्वमा छन् । जेन–जी विद्रोहको मूल मर्म यी नेतालाई दलको नेतृत्वबाट बिदाइ गर्नु पनि हो । जनतालाई हरेकपटक आश्वसन दिने तर सुशासनमा रत्तिभर काम नगर्ने तीन नेताको वरिपरि नेपालको शासन व्यवस्था चलिरह्यो ।
जसकारण न त रोजगारी सिर्जनाका कार्यक्रम आए, न त आर्थिक अवस्था सुध्रियो । दिनानु दिन नेपालको अवस्था ओरालो लाग्यो । यस्तो अवस्थामा जेन–जी विद्रोहबाट आशाका पालुवा पलाएको थियो । यद्यपि, केही महिना बित्न नपाउँदै दलका नेताहरु कुर्सी नछाड्ने अडानमा देखिएका छन् । बुधबारमात्र नेपाली कम्युनिस्ट पार्टीको नाममा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलको एकीकरण भयो । एकीकरण भएको दलको नेतृत्वमा पूर्वप्रधानमन्त्री दाहाल संयोजक छन् । सहसंयोजकमा अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । दाहाल उनै नेता हुन् जो पटक–पटक जेन–जीको मुद्दा माओवादीले पहिलेबाटै बोक्दै आएको हो र नेपाल यही व्यवस्थामा पटक–पटक नेतृत्वमा पुगेका नेताहरु हुन् । १० पार्टी मिलेर बनेको यो दलको नेतृत्वमा ७० वर्ष उमेर पुगेका नेताहरुको हालीमुहाली छ ।
यता नेकपा एमालेमा पनि ओलीले नेतृत्व छाड्ने छाँट देखाएका छैनन् । उनको नेतृत्वबाट वाक्क भएर एकीकृत समाजवादीमा लागेका युवाहरुसमेत अब ओली नेतृत्वको एमालेमै फर्कने सुरमा छन् । रामकुमारी झाँक्री यसकै उदाहरण हुन् । पटक–पटक संसद् विघटन गर्ने, आफ्ना आसेपासेलाई राजनीतिक नियुक्ति दिनेदेखि उग्र अभिव्यक्ति दिन खप्पिस ओलीलाई नेतृत्वमा देख्न नचाहनेहरु एमालेको राजनीतिबाट हराएका छन् । यस्तो बेला पनि ओली फेरि महाधिवेशनमार्फत नेतृत्वमा आउने तयारीमा छन् ।
यता प्रमुख दल नेपाली कांग्रेसका सभापति देउवा सिंगापुरबाटै केन्द्रीय समितिलाई निर्देशन दिइरहेका छन् । असोज २८ गते केन्द्रीय समितिमा अन्तिम सम्बोधन भन्दै प्रचार गरिए पनि देउवाले आफूलाई अझै नेतृत्वमा शक्तिशाली देखाउँदै आएका छन् । जेन–जीले विद्रोहको बिगुल फुक्दा पनि पछिल्ला गतिविधि हेर्दा दलहरु सुध्रिने छाँट देखिँदैन । जसकारण आउने नयाँ दललाई भरपुर फाइदा पुग्ने देखिन्छ ।