एपी– चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशंका भएपछि फिर्तीको मिति स्थगित गरिएको छ ।
राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन । शेनझोउ-२० नामक मिसनअन्तर्गत रहेका ती तीन जना अन्तरिक्ष यात्रीहरू- टोलीका नेता चेन डोङ, लडाकू पाइलट चेन झोङरुई र इन्जिनियर वांग जी - गत अप्रिलमा तियागाेंगं अन्तरिक्ष स्टेशनमा प्रस्थान गरेका थिए । अहिले उनहरूले आफ्नो करिब छ महिनाको कक्षीय मिशन पूरा गर्न लागेका छन् ।
यसैबीच, नयाँ टोली लिएर गएको शेनझोउ-२१ मिसन शनिबार सफलतापूर्वक तियागाेंगं अन्तरिक्ष स्टेशनमा डक भएको छ । नयाँ टोलीले शेनझोउ-२० का अन्तरिक्ष यात्रीहरूको स्थान ग्रहण गर्नेछ । चीनले सन् २००३ मा पहिलो पटक आफ्ना नागरिकलाई अन्तरिक्षमा पठाएपछि निरन्तर प्रगति गर्दै आएको छ । आज चीनले आफ्नै स्थायी अन्तरिक्ष स्टेशन निर्माण गरी नियमित रूपमा मानवयुक्त मिशन सञ्चालन गरिरहेको छ । यससँगै, चिनियाँ अन्तरिक्ष निकायले सन् २०३० भित्र व्यक्तिलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य पनि तय गरेको छ ।
यो पछिल्लो ढिलाइलाई चिनियाँ अधिकारीहरूले सावधानीका रूपमा लिएका छन् । सम्भावित भग्नावशेषको प्रभावको सम्पूर्ण मूल्यांकन गरेपछि मात्र अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइने बताइएको छ ।