सुनसरी– सुनसरीको रामधुनी नगरपालिका-२ मा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिलाई संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले थारू संग्रहालय स्थापना गरिएको छ ।
तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको उक्त संग्रहालय संघीय सरकारको २०७६/७७ सालको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत प्राप्त ३५ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले बताए । संग्रहालयभित्र थारू समुदायको जीवनशैली, संस्कार र सांस्कृतिक परम्परालाई झल्काउने १५० भन्दा बढी मूर्ति र संरचना स्थापना गरिएका छन् । वडा सदस्य चौधरीका अनुसार, संग्रहालय विशेषगरी थारू समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराबारे जानकारी गराउने उद्देश्यले निर्माण गरिएको हो ।
‘हाम्रा नयाँ पुस्तालाई आफ्नै संस्कृति र पहिचानबारे थाहा होस् भनेर यो संग्रहालय निर्माण गरिएको हो’, उनले भने,‘रामधुनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत संग्रहालय मर्मत तथा रङरोगनका साथै केही सामग्री थपका लागि सात लाख रुपैयाँ विनियोजन गरेको छ ।’
नगरपालिकाले हरेक वर्ष संग्रहालयका लागि बजेटको व्यवस्था गर्दै आएको छ । सग्रङ्हालयमा विदेशी पर्यटक समेत आउने गरेको बताउँदै वडा सदस्य चौधरीले यसको पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको बताए । संग्रहालयभित्र थारू समुदायको जन्मदेखि मृत्यु संस्कारसम्मका विविध सांस्कृतिक र ऐतिहासिक पाटो मूर्ति र कलात्मक संरचनामार्फत चित्रण गरिएको छ ।