काठमाडौं - चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिण कोरियाको राजकीय भ्रमणका क्रममा आफ्ना समकक्षी ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार दिएका छन् । प्रविधि क्षेत्रको दिग्गज कम्पनी सामसङको गृह देशमा चिनियाँ कम्पनीका दुई ओटा स्मार्टफोन उपहार दिएका हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार फोन उपहार दिँदै राष्ट्रपति सीले मजाकपूर्ण ढंगले ‘ब्याकडोर (गोप्य रूपमा पाउन सकिने एक्सेस) छ कि छैन, जाँच गर्नुहोला’ भनेका थिए । यो उपहार आदानप्रदान एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) मञ्चको समापनपछि शनिबार भएको भेटका क्रममा भएको हो ।
सामसङको प्रभुत्व रहेको बजारमा चिनियाँ कम्पनीको स्मार्टफोन दिनुलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको बढ्दो प्राविधिक महत्त्वाकांक्षाका रूपमा विश्लेषण गरिएको छ । चीनले हालै सार्वजनिक गरेको आफ्नो आगामी पाँच वर्षको आर्थिक विकास योजनामा पनि प्राविधिक आत्मनिर्भरता र विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ ।
उपहार आदानप्रदानअघि राष्ट्रपति लीले सीलाई प्राचीन रणनीतिक खेल ‘गो’ को लागि काठको बोर्ड उपहार दिएका थिए । त्यसपछि दुई नेता स्मार्टफोन राखिएको कालो बक्स भएको ठाउँतर्फ गए । त्यहाँ उपस्थित एक अधिकारीले उपहारमा दिइएका ती डिभाइसमा प्रयोग भएका डिस्प्ले दक्षिण कोरियामै बनेको जानकारी दिएका थिए ।
राष्ट्रपति लीले एउटा बक्स उठाएर हेर्दै राष्ट्रपति सीलाई प्रश्न गरेका छन् , “यसको सञ्चार सुरक्षा कस्तो छ ?” यो प्रश्न सुनेपछि सी र उपस्थित अन्य अधिकारी गलल हाँसेका थिए । सीले त्यसपछि फोनतर्फ औँल्याउँदै जवाफ दिए, “तपाईंले यसमा ब्याकडोर छ कि छैन, जाँच गर्न सक्नुहुन्छ ।”
‘ब्याकडोर जोखिम’ भन्नाले सामान्य प्रमाणीकरण वा सुरक्षा नियन्त्रणलाई छल्ने वा बाइपास गर्ने लुकेको विधि वा एक्सेसलाई बुझिन्छ । सीको यो ठट्टाले विगतमा चीनले अमेरिकी प्राविधिक प्रस्तावमाथि व्यक्त गरेको सुरक्षा चिन्तालाई झल्काएको छ । अमेरिकाले विदेशमा बेच्ने अत्याधुनिक चिप्समा ट्र्याक गर्ने र स्थान पत्ता लगाउने सुविधा अनिवार्य हुनुपर्छ भन्ने प्रस्ताव गरेपछि चीनले त्यसबारे गम्भीर चिन्ता व्यक्त गरेको थियो । उपहार आदानप्रदानको क्रममा दुवै नेता हाँसेका थिए भने लीले ताली बजाएर आभार प्रकट गरेका थिए ।