- यही १८ कात्तिकमा माओवादी–एकीकृत समाजवादी एकता तयारी
- संस्थापनपक्ष एकता गर्न तयार हुँदा खनाल–भुसाल समूहको विमति
- खनाल एमाले फर्किन सकारात्मक, भुसाल ‘पर्ख र हेर’को नीतिमा
- सैद्धान्तिक विषयमा शीर्ष तहमा सहमति
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत केन्द्रीय समिति नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्दा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरू एकीकरण प्रक्रियाबाट अलग्गिएका छन् ।
नेता खनालले नयाँ पार्टी बनाउने घोषणा गरे पनि पूर्वपार्टी नेकपा एमालेमा फर्किन सकारात्मक देखिएका छन् । महासचिव घनश्याम भुसाल भने ‘पर्ख र हेर’को नीतिमा देखिन्छन् । आगामी पार्टी सचिवालय बैठकले एकताबारे गर्ने निर्णयको आधारमा उनले कदम चाल्ने बताइसकेका छन् । यससँगै स्थापनाको ५० महिनामा एकीकृत समाजवादी कम्तीमा दुई चिरा हुने निश्चित भएको छ ।
पार्टीमा लामो समयदेखि नेपाल–खनालबीच अन्तरसंघर्ष चलेको थियो । वैचारिक तथा राजनीतिक कार्यदिशालाई लिएरमात्रै होइन, नेताहरूको व्यवस्थापनको विषयमासमेत दुई नेताबीच मतभेद हुने गरेको थियो । एमाले विभाजनको औचित्य पुष्टि भए÷नभएकोमा मतान्तर थियो ।
राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को आमचुनावबाट राष्ट्रिय दल नभएपछि त एकीकृत समाजवादी ‘प्यारालाइज्ड’ नै भयो । हालैको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति, अध्यक्ष नेपालमाथिको भ्रष्टाचार मुद्दा, ठूलो संख्यामा नेता कार्यकर्ताले पार्टी छाड्नुलगायत कारणले पार्टी गम्भीर संकटमा थियो । यस्तोमा पार्टी तीन टुक्रा हुने देखिएको हो ।
एकीकृत समाजवादीको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालसहित बहुमत पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू माओवादीसँग एकता गर्ने पक्षमा उभिए । एकताबारे सर्वसम्मत निर्णय भने भएन । एकताको निर्णय गर्ने कार्यभार सचिवालयलाई छ । सचिवालयमा नेपालपक्षको स्पष्ट बहुमत छ ।
एकताबारे सचिवालय बैठकले निर्णय लिनुअघि नै शनिबार खनाल–भुसालपक्षको भेला काठमाडौंको सुकेधारामा भयो । भेलामा सहभागी हुने क्रममा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै खनालले एमाले फर्किन सकारात्मक संकेत दिएका हुन् । त्यसअघि एमाले फर्किन उपयुक्त वातावरण र भूमिका चाहिने उनको प्रतिक्रिया थियो ।
ओलीले एमाले फर्किन आह्वान गरेको केही घण्टापछि खनालले भने, ‘ढोका राम्रोसँग उदांगो पारेर खोल्नुप¥यो । बस्ने ठाउँहरू राम्रोसँग बनाउनुप¥यो । त्यो भयो भने फर्कने के समस्या भयो र ?’खनालले माओवादीसँग हुने एकतालाई पार्टी बिसर्जन, विलय र विभाजन भनेका छन् । उनै खनालसँगै महासचिव भुसालले संयोजन गरेको शनिबारको भेलामा नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य डा. विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अम्बरबहादुर थापा, कृष्णकुमार श्रेष्ठ (किसान), आरती लामालगायत नेताहरू थिए ।
उनीहरू माओवादीसँग एकता गर्न तयार छैनन् । भेलामा सहभागीमध्ये अधिकांश एमाले फर्किन तयार देखिन्छन् । नेतृ झाँक्री त घरिघरी ओलीको प्रतिरक्षामा उत्रिन्छन् । हालै एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ओलीलाई दक्षिणपन्थी भन्दा उनले विरोध गरेकी थिइन् । उनले एमालेसँग एकता भए त्यो प्राकृतिक हुने भनिसकेकी छन् ।महासचिव भुसाल पार्टीहरू पुनर्गठनको पक्षपाती हुन् । उनले बृहत् वाम एकता हुनुपर्ने तर त्यसअघि कम्युनिस्ट पार्टीहरू (एमाले, माओवादी, एकीकृत समाजवादीलगायत)का अध्यक्षहरूले नेतृत्व छाड्नुपर्ने सर्त राखेका छन् । ‘म कम्युनिस्ट पार्टीहरूको एकता पक्षमा छु तर त्यसअघि पुनर्गठन गर्न पार्टीहरू तयार हुनुपर्छ । त्यसका लागि अहिलेको फस्र्ट लिडरले छाड्नुपर्छ । अनि पो विचार सिद्धान्त मिलाएर एकता गर्न सकिन्छ,’ उनले प्रभावसँग भने ।
माओवादी र एकीकृत समाजवादीबीच एकता हुँदा दाहाल र नेपाल नेतृत्वमा हुन नहुने भुसालको स्पष्ट मत छ । शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा धारणा राख्दै नेपालले पनि दाहालले नेतृत्व छाड्ने र आफूले पनि छाड्ने बताएका थिए । नेपालले यसो भनेर भुसालसहितका नेताहरूलाई माओवादीसँगको एकता प्रक्रियामा जोड्न लागेको विश्लेषण भइरहेको छ ।माओवादी र एकीकृत समाजवादीबीचको एकता यही १८ कात्तिकमा गर्ने भनिएको छ । एकताअघि सैद्धान्तिक विषय टुंगिएको जनाएको छ ।
दुवै पार्टी नेपाली विशेषताको समाजवादको बाटोमा अघि बढ्ने, मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुने विषयमा सहमत भएको नेता बेदुराम भुसालले बताएका छन् । उनका अनुसार पहिलो वरीयतामा दाहाल, दोस्रो वरीयतामा नेपाल हुने पनि समझदारी भएको छ । माओवादी–एकीकृत समाजवादी एकता हुँदा अन्य दुई घटक पनि एकता प्रक्रियामा आउने भएका छन् । ती दुई घटक हुन्– महेन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपाको एउटा समूह । यी दलहरूबीच लामो समयदेखि एकताका लागि चरणबद्ध वार्ता भएको थियो । अन्ततः २१ फागुनमा चुनावको मिति घोषणा भइसक्दा एकता हुने भएको हो ।
जनार्दनको चेतावनी– एकीकृत समाजवादीसँगको एकता हानिकारक
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता हानिकारक हुने चेतावनी दिएका छन् । तत्काल पार्टी एकता नगर्न पनि उनले अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन् । शनिबार सचिवालय बैठकपछि उनले भने, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउने छ । त्यसैले उपयुक्त गृहकार्य, वैचारिक स्पष्टताविना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने छ ।’

शर्माले बैठकमा चार पृष्ठको फरक मत राखेका छन् । तर, उनले राखेको फरक मतबारे छलफल नै नभइ उनी बैठकबाट बाहिरिएका थिए । यसप्रति अध्यक्ष दाहालले आपत्ति जनाए । ‘बसौँ भन्दाभन्दै उहाँ निस्कनुभयो । आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने उहाँको शैली ठीक थिएन,’ बैठकपछि दाहालले पत्रकारहरूसँग भने ।
शर्मालाई पार्टीको संस्थापनपक्षले पार्टी फुटाउन लागेको आरोप लगाउँदै आएको छ । आरोपलाई शर्माले भने खारेज गर्दै आएका छन् । तर, पार्टीकै अर्का नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बारम्बार भेटवार्ता हुँदै आएको छ । श्रेष्ठले एकीकृत पार्टीको नेतृत्वमा दाहाल नै रहने भए अस्वीकार गर्ने भन्दै दाहाललाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका छन् । दाहालले नेतृत्व नछाड्ने भए नयाँ पार्टी खोल्ने तयारीमा रहेकाहरुलाईसमेत समेटेर पार्टी पुनर्गठन गर्ने तयारीमा श्रेष्ठ छन् । यसका लागि वर्तमान सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग निरन्तर छलफलमा श्रेष्ठ छन् ।