काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।
आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक भइरहेको आयोगले जनाएको छ । यस कार्यमा विगतमा मतदाता नामावलीमा नाम दर्ता भएका नेपाली नागरिकको चाप देखिएको आयोगका प्रवक्ता नारयणप्रसाद भट्टराईले जानकारी दिए । 
आयोगले गत असोज ९ गतेदेखि नामावली संकलन  गरेकामा यसबीचमा हालसम्म ९० हजार ३२ नागरिले नाम दर्ता गराएका छन् । आयोगको अनुमानमा संकलनको अवधि यही कात्तिक ३० गतेसम्ममा यो सख्या थप एक लाख बढ्न सक्ने देखिएको छ । यही कात्तिक १७ गतेका लागि तोकिएको रूपन्देही क्षेत्र ३ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति तोकिएपछि उपनिर्वाचनका कार्यक्रम रद्द भएको थियो । उक्त उपनिर्वाचन हुने भनिएको अघिल्लो दिन कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको सख्या एक करोड ८१ लाख ६८ हजार दुई सय ३० रहेको थियो । अहिले नाम दर्ता गर्ने नागरिकले मताधिकार प्रयोग गर्न निर्वाचन हुने अघिल्लो दिन आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्नेछ । मतदाता नामावली दर्ता गर्न भने १६ वर्ष उमेर पुगेपछि मिल्नेछ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको  प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सकिन्छ । नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त   बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । नामावली संकलनका क्रममा विगतमा भएको नामावलीमा त्रृटि सच्याउने, नाम सार्ने, नाम हटाउने, दाबी विरोध गर्ने र नयाँ नाम थप गर्नेलगायतका कार्यहरू हुँदै आएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन भएको थियो । सरकारले प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन राजनीतिक दल, जेनजी समूहरु, निर्वाचन आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद गर्दै आएको छ ।