काठमाडौं– महिला पुनस्थापना केन्द्र (ओरेक) ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म (अप्रिलदेखि जुन २०२५) सम्मका तीन महिनामा तथ्यांक अनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख गरेको हो । ।
कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट संकलन गरिएको हो । यस तथ्यांकअनुसार कूल ३०८ वटा लैंगिक हिंसा घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन् ।
हत्याका घटना र प्रभावितको उमेरलाई हेर्दा सबैभन्दा बढी २९ प्रतिशत (छ जना) १८ देखि २५ वर्ष, हत्या हुनेमा २६ देखि ३५ वर्षका २४ प्रतिशत, १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका रहेका छन् । ओरेकले महिलाको हत्यामा संलग्न पीडकलाई हेर्दा श्रीमान् र परिवारका सदस्यको संलग्नता नै बढी रहेको पाइएको जनाएको छ । जसमा ४३ प्रतिशत महिला (नौ जना) को हत्या श्रीमान्बाट र २४ प्रतिशत महिला (पाँच जना) को हत्या परिवारका सदस्यबाट भएको पाइएको छ ।
यसैगरी, १० प्रतिशत महिलाको छिमेकीबाट, पाँच प्रतिशतको आत्मीय साथीबाट महिलाको हत्या भएको छ भने १४ प्रतिशत हत्या पूर्वपतिबाट भएको जनाइएको छ । हत्या प्रभावित र वैवाहिक अवस्थालाई हेर्दा सबैभन्दा बढी ८२ प्रतिशत (१७ जना) विवाहित महिला, १० प्रतिशत (दुई जना) हत्या हुनेमा अविवाहित महिला र नौ प्रतिशतको अवस्था खुलेको छैन । 
नेपाल प्रहरीको २०८१/०८२ को तथ्यांक अनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या, घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको देखिएको पनि जनाइएको छ ।