काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता भएको छ। व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता भएको हो।
उनीहरूको छ वर्षपछि पहिलो प्रत्यक्ष भेट हो। वार्ताका विषयबारे विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन, तर बैठकलाई चीन–अमेरिका सम्बन्धमा नयाँ चरणको सुरुवात भनेर हेरिएको छ।
वार्ताका क्रममा ट्रम्पले भपे, ‘सी निकै कडा वार्ताकार हुन् । यो सजिलो कुरा होइन, तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’वार्ता सुरु हुनुअघि दुवै नेताले हात मिलाएर अभिवादन गरेका थिए। ट्रम्पले जिनपिङलाई ‘एक सम्मानित र महान देशका महान नेता’ भन्दै प्रशंसा गरे।
अमेरिकाबाट ट्रम्पसँग विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सूजी विल्स, र चीनस्थित अमेरिकी राजदूत डेभिड पर्ड्यू सहभागी थिए।
चीनतर्फबाट सीका साथमा कै क्यू, विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री मा झाओक्सू, उप प्रधानमन्त्री हे लिफेङ, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी उपस्थित थिए।
बैठकको बीचमा चिनीयाँ शेयर बजार १० वर्षकै उच्च स्तरको वृद्धि देखिएकाे थियाे । विश्लेषकका अनुसार, अमेरिका–चीन व्यापार तनाव घट्ने आशा ले लगानीकर्तालाई आत्मविश्वास दिएको छ।