कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र चोरीका घटनामा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह गरेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेका दिन आगजनी, लुटपाट तथा चोरीबाट क्षति भएको सम्पत्तिको अध्ययन गर्न आज सुर्खेत आइपुगेका जाँचबुझ गरेका हुन् ।
उनले आन्दोलनको नाममा सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा गरिएको क्षतिको निष्पक्ष अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न आयोगलाई सुझाव दिए । मुख्यमन्त्री कँडेलले विगतमा राजनीतिक तथा जनआन्दोलन जे भए पनि कहिल्यै नागरिकको निजी सम्पत्तिमा आगजनी वा लुटपाटजस्ता घटना नभएको स्मरण गराए ।
“अपराधलाई राजनीति भनेर ढाकछोप गरियो भने कानुनको शासन कमजोर हुन्छ र अराजकता बढ्ने खतरा रहन्छ”, उनले भने, “अब नागरिक नै असुरक्षित हुने अवस्था आउन सक्छ ।” अपराधजन्य कार्यमा संलग्न जोकोही भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा उनको जोड थियो । जाँचबुझ आयोग र प्रहरी प्रशासनले सत्यतथ्य तथा निष्पक्ष अनुसन्धानद्वारा दोषीलाई कारबाहीमा ल्याएमात्र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
उनका अनुसार छानबिन सत्यतथ्य हुन नसके आपराधिक तत्वले प्रश्रय पाउँछ । जाँचबुझ आयोगका सदस्य भण्डारीले निजी घर जलाउने कार्यलाई स्पष्ट रूपमा आपराधिक गतिविधिका रूपमा आयोगले अध्ययन गर्ने बताए । उनले व्यक्तिगत घरमा आगजनी, लुटपाट र चोरी गर्ने कुरा राजनीतिक नभएको उल्लेख गरे।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले हालसम्म सुर्खेतमा भएको आगजनी, लुटपाट र चोरीसम्बन्धी फोटो तथा भिडियो प्रमाण सकलन गरिएको जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरूको पहिचान कार्य अन्तिम चरणमा पुगेको जनाउँदै उनले केही दिनभित्रै कानुनी कारबाही अगाडि बढाइने बताए ।