बर्लिन - बर्लिन नजिकैको फार्ममा बर्ड फ्लुको सङ्क्रमण बढ्दै गएपछि आइतबार एक लाख ३० हजार हाँस र कुखुरा मार्न आदेश दिएको जर्मनीका अधिकारीहरूले बताएका छन् ।
ब्रान्डेनबर्गको मार्किस–ओडरल्याण्ड जिल्लाले एक विज्ञप्ति जारी गरी भनेको छ, “फार्ममा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि करिब ८० हजार हाँस र ५० हजार ब्रोइलर कुखुरा रहेको फार्ममा यो रोग फेला परेको छ।”
“पशु चिकित्सा कार्यालयले सम्बन्धित अधिकारीहरूसँगको परामर्शमा पशु कल्याण र स्वास्थ्यको कारणले प्रभावित पङ्क्षीहरूलाई नष्ट गर्ने निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ। जर्मनीका कैयौँ राज्यहरूले बर्ड फ्लुको फैलावटलाई कम गर्न निगरानी क्षेत्रमा चराहरूलाई स्वतन्त्र नछोड्न र निश्चित क्षेत्रमा निगरानीसहित राख्ने आदेशसहित नयाँ नियन्त्रणका उपायहरू अवलम्बन गरिएको छ।
विगत दुई हप्तामा बर्ड फ्लु भाइरसको सङ्क्रमण निकै तीव्र गतिमा बढेको जर्मनीका कृषिमन्त्री एलोइस रेनरले शुक्रबार बताएका छन्। जर्मनीको राष्ट्रिय पशु रोग अनुसन्धान केन्द्र, फ्रेडरिक लोफ्लर इन्स्टिच्युट (एफएलआई) ले प्रकोपबाट ‘उच्च’ जनस्वास्थ्यमा जोखिम हुनसक्ने चेतावनी दिएको छ।
इन्स्टिच्युटले भनेको छ, “पहिलो पटक, सारसलगायत जङ्गली चराहरूमा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।” स्वास्थ्य तथा प्रशासन अधिकारीहरूले सर्वसाधारणलाई बिरामी वा मरेका जनावरहरूको सम्पर्कबाट टाढा रहन आग्रह गरेका छन्। बर्ड फ्लु चराबाट मानिसमा सर्न सैद्धान्तिक रूपमा सम्भव छ, यद्यपि, वास्तविक खतरा कम रहेको विश्वास गरिएको एफएलआईले जनाएको छ।