- पाँच हजारभन्दा बढी फरार कैदीबन्दीको तस्बिर सार्वजनिकस्थलमा टाँसिने
- सर्वसाधारणलाई फरार कैदीबन्दीको पहिचान गरी प्रहरीलाई जानकारी दिन सहज हुने अपेक्षा
- फरार कैदीबन्दीमा नेपालीपछि भारतीय बढी
काठमाडौं– सरकारले जेन–जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका झण्डै पाँच हजार कैदीबन्दीलाई पक्राउ गर्न नयाँ रणनीति अपनाउने भएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फरार कैदीबन्दीहरूको तस्बिर सार्वजनिक सेवा दिने स्थलहरूमा टाँसिने भएको छ ।
मानिसहरूको बढी भिडभाड हुने ठाउँहरूमा पनि तस्बिर टाँसिने भएको छ । त्यसो गर्दा फरार कैदीबन्दीहरूको पहिचान गर्न र प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई सहज हुने न्यौपानेले बताए ।‘चाडबाड सकिएलगत्तै फरार कैदीबन्दीहरूलाई कारागारमै फिर्ता ल्याउन उनीहरूको तस्बिर प्रकाशन गरेर सार्वजनिक सेवा प्रवाह गर्ने स्थलहरूमा टाँस्छौं र मानिसहरू बढी जमघट हुने ठाउँहरूमा राख्छौं,’ उनले प्रभावसँग भने, ‘यदि उनीहरूलाई देखे सर्वसाधारणले प्रहरीलाई खबर गर्न सजिलो हुन्छ ।’
त्यस्तो तस्बिर उनीहरूको ठेगाना र फरार भएका जिल्लामा टाँस्ने विभागको तयारी छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूले वेबसाइटमा फरार कैदीबन्दीहरूको नाम प्रकाशन गरेका थिए । कारागार फर्किन चेतावनीपूर्ण सूचना पनि जारी गरेका थिए । सूचनापछि केही कैदीबन्दी कारागार फर्किए । कतिपयलाई प्रहरीले पक्राउ गर्यो । तर, अझै पाँच हजारभन्दा बढी कैदीबन्दी फरार हुँदा शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएको सुरक्षा निकायहरूको विश्लेषण छ ।
विभागका निर्देशक न्यौपानेका अनुसार कारागारबाट फरार हुने कैदीबन्दीमा नेपालीपछि सर्वाधिक भारतीय छन् । भारतीय कैदीबन्दीहरू उनीहरूको देश पुगेको हुन सक्ने अनुमान गरिएको छ । केही नेपाली कैदी पनि भारत पुगेको हुन सक्ने विभागले जनाएको छ । ‘नेपाल–भारत खुला सीमा छ । त्यसो हुँदा एक देशबाट अर्को देश फरार हुन सक्छन् र उनीहरूलाई पक्राउ गरेर कारागार फर्काउन हामी लागिपरेका छौं,’ न्यौपाने भन्छन् ।
चाडबाड सकिएलगत्तै फरार कैदीबन्दीहरूलाई कारागारमै फिर्ता ल्याउन उनीहरूको तस्बिर प्रकाशन गरेर सार्वजनिक सेवा प्रवाह गर्ने स्थलहरूमा टाँस्छौं र मानिसहरू बढी जमघट हुने ठाउँहरूमा राख्छौं ।
चोमेन्द्र न्यौपाने
निर्देशक, कारागार व्यवस्थापन विभाग फरार कैदीबन्दीहरूको खोजीमा यतिबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सक्रिय छन् । हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल पनि क्रियाशील छ । यसले पनि फरार कैदीबन्दीलाई पक्राउ गर्न अभियान चलाउँदै आएको छ । यसबाहेक सरकारले फरार कैदीबन्दीको पक्राउमा सर्वसाधारणको पनि सहयोगको अपेक्षा गरेको छ । त्यसका लागि सर्वसाधारणले चिनुन् भनेर फरार कैदीबन्दीको नामसहितको तस्बिर प्रकाशन गर्ने विकल्पमा सरकार पुगेको हो ।
यता कारागार व्यवस्थापन विभागले यसअघि नै टोल सुधार समितिदेखि शैक्षिक संस्था, स्थानीय क्लब, सार्वजनिक सवारीसाधन, बसपार्क, मनोरञ्जनस्थल र सीमा नाकाहरूमा फरार कैदीबन्दीको नाम पठाइसकेको छ । फरारमध्ये केही कैदीबन्दीले कारागारको संरचना तोडफोड गरेका थिए । कारागार व्यवस्थापन ऐन २०७९ मा त्यस्तो कार्य गर्नेलाई १० वर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
यो ऐनअनुसार कारागारबाट कैदीबन्दी भगाउने वा भगाउन सहयोग गर्ने पनि कसुरदार हुन्छन् । त्यस्तो कसुर गर्नेलाई कानुनतः तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।गत २३ र २४ भदौको जेन–जी आन्दोलनको मौका छोपेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनका नेता कार्यकर्ताले ललितपुरको नख्खु कागारबाट निकालेका थिए । लामिछाने कारागारबाट निकालिएलगत्तै देशभरका विभिन्न कारागार तोडफोड गर्दै कैदीबन्दी फरार भए ।
कारागार व्यवस्थापन विभागका निर्देशक न्यौपानेले त्यसबेला १३ हजार २०७ जना कैदीबन्दी फरार भएका बताए । बाल सुधार गृहका बन्दीसमेत त्यसबेला फरार भएको न्यौपानेले बताए ।