गाजा सिटी- इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएका छन् ।
उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ । प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ ।
युद्धविराम कार्यान्वयनमा चुनौती
युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ । इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ ।
नेटन्याहुले भने,“युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।”