मिलान- इटालीमा सन् २०२४ मा करिब १० जनामध्ये एक जना पूर्ण गरिबीको अवस्थामा रहेको एक अध्ययनले देखाएको छ ।
मङ्गलबार सार्वजनिक गरिएको इटालीको राष्ट्रिय तथ्याङ्क संस्था (इस्तात) को प्रतिवेदन अनुसार, देशभर ५७ लाख मानिसहरू (झण्डै २२ लाख घरपरिवार) पूर्ण गरिबीमा बाँचिरहेका छन्, जसले कुल जनसङ्ख्याको ९.८ प्रतिशत प्रतिनिधित्व गर्छ ।
‘पूर्ण गरिबीमा’ भन्नाले मानिसहरूले दैनिक जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा सेवा खरिद गर्न नसक्ने अवस्थालाई जनाइएको छ । उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।
अघिल्ला दुई वर्षमा यो अनुपात स्थिर भए पनि पछिल्ला १० वर्षमा भने गरिबी उल्लेख्य रूपमा बढेको अध्ययनले जनाएको छ । युरोपस्तरीय मापदण्ड अनुसार, सन् २०२४ मा करिब एक करोड ३६ लाख इटालियनहरू (जनसङ्ख्याको २३ प्रतिशत) गरिबी वा सामाजिक बहिष्करणको जोखिममा परेका थिए ।
यो दर युरोपेली संघको औसत २१ प्रतिशतभन्दा उच्च हो । इटाली केही पश्चिम युरोपेली मुलुकहरूभन्दा कमजोर अवस्थामा देखिए पनि, ग्रीसजस्ता राष्ट्रहरूको तुलनामा राम्रो अवस्थामा छ, जहाँ गरिबीको जोखिम २७ प्रतिशत पुगेको छ ।
यो अध्ययन अनुसार, विदेशी नागरिकहरू (प्रवासीहरू) गरिबीबाट अझ बढी प्रभावित छन् । पूर्ण रूपमा विदेशीहरूबाट बनेका घरपरिवारमध्ये ३५ प्रतिशत गरिबीको रेखामुनि रहेका छन्, जबकि केवल इटालियन नागरिकहरू भएका घरपरिवारमा यो सङ्ख्या ६ प्रतिशत मात्र रहेको छ ।