गाजा - हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) लाई दुई मृत बन्दीहरूको शव हस्तान्तरण गरेको इजरायली सेनाले जानकारी दिएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै ती शवहरू अहिले गाजामा रहेका आईडीएफ र शिन बेट सुरक्षा बलहरूतर्फ लगिँदै गरेको बताएको छ । सेनाका अनुसार यी दुई शव हस्तान्तरण गरिएपछि थप दुई बन्दीका शव पनि हस्तान्तरण गरिनेछ ।
आईडीएफले मृतक बन्दीहरूको नाम भने खुलाएको छैन। यसअघि हमासले आज इजरायललाई फिर्ता गरिने भन्दै चार जना बन्दीको नाम सार्वजनिक गरेको थियो। यसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ ।
यद्यपि, हमास वा रेड क्रस दुवैले अहिलेसम्म यो हस्तान्तरणको पुष्टि गरिसकेका छैनन् ।