- इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजा पुगेका विपिन सन् २०२३ अक्टोबर ७ मा हमासको नियन्त्रणमा परेका थिए
- विपिन जीवितै रहेको भन्दै इजरायली सरकारले भनेपछि राष्ट्रपति रामचन्द्र पौडेलदेखि तीन सरकार प्रमुखहरुले उनको रिहाइका लागि पहल गरेका थिए
- तर सोमबार हमासले इजरायललाई बुझाउने चार शवको सूचीमा विपिनको नामसमेत रहेको छ
काठमाडौं– दुई वर्षअघि हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी अन्ततः जीवित नरहेको पुष्टि भएको छ । हमासले सोमबार जोशी जीवित नरहेको पुष्टि गरेको हो ।
हमासले विपिनसहित इजरायली नागरिकहरु गाय इलोज, योसी साराबी र डेनियल पेरेट्जको शव इजरायललाई सोमबार नै बुझाउने भने पनि यो समाचार तयार पार्दासम्म बुझाएको छैन । यसअघि इजरायली अधिकारीहरूले सोमबार बिहानै नेपाली राजदूत धनप्रसाद पण्डित र विपिनका परिवारलाई हमासको कब्जाबाट रिहा हुने जीवित बन्धकहरूको सूचीमा नेपाली विद्यार्थी विपिन नरहेको जानकारी गराएका थिए । ‘इजरायल डिफेन्स फोर्स (आइडिएफ) को कर्मचारीले फोन गरे । आज रिहा हुने जीवितहरूको सूचीमा विपिन जोशी नरहेको जानकारी गराए,’ राजदूत पण्डितले भने ।
हमासले सोमबार नै आफ्नो नियन्त्रणमा रहेका २० जना इजरायली बन्धकलाई जीवितै मुक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका बेला अमेरिकी मध्यस्थताको युद्धविराम र बन्धक सम्झौता औपचारिकरूपमा लागू भएको घोषणा गरिएको थियो । लगत्तै ट्रम्प इजिप्ट पुगेर गाजा युद्धविराम कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
दुईतर्फी सम्झौतापछि इजरायलले प्यालेस्टाइनी कैदी मुक्त गर्न थालेको छ । अलजजिराका अनुसार सोमबारमात्र १२४ जना प्यालेस्टाइनी कैदीलाई इजरायलले मुक्त गरेको छ । उक्त युद्धमा इजरायलले एक हजार ७०० भन्दा बढी प्यालेस्टाइनीलाई आफ्नो नियन्त्रणमा राखेको थियो ।
बन्धकहरु मुक्त गरेसँग इजरायलमा खुसी छाएको छ । तर विपिनको जीवित नरहेका खबरले नेपाललाई भने स्तब्ध पारेको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । सोही क्रममा गाजामा युद्धमा परी १० नेपालीको ज्यान गएको थियो । २०८० असोज २० गते शनिबारदेखि सम्पर्कविहीन रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका विपिन जीवितै रहेको आश धेरैको थियो ।
हमास र इजरायलबीच युद्धविराम भएसँगै ४६ जना बन्धकमध्ये २६ जना मृतक र २० जना जीवितको नाम हमासले यसअघि इजरायललाई उपलब्ध गराएको थियो । तर इजरायलले यो सूचीमा विपिनको नाम उल्लेख गरेको थिएन । त्यसैले पनि विपिन पनि जीवितै रहेको भनिएका थियो ।
इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गाजा पुगेका विपिन सन् २०२३ अक्टोबर ७ मा हमासको नियन्त्रणमा परेका थिए । सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको अप्रत्यासित आक्रमणपछि जोशीसहित २५१ जनालाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए । उक्त आक्रमणमा १० नेपालीसहित एक हजार २०० जनाको ज्यान गएको थियो ।
हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७) विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेण्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिनलाई प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जाबाट रिहाइका लागि नेपाल सरकारका तर्फबाट विभिन्न प्रयास भएको थियो ।
कसको पालामा के पहल ?
हमासको नियन्त्रणमा परेका विपिनको सकुशल रिहाइका लागि राष्ट्रपति रामचन्द्र पौडेलदेखि तीन प्रधानमन्त्रीले पहल गरे । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका एनपी साउद १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेका थिए ।
मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन उनी त्यहाँ पुगेका थिए । त्यतिबेलाका प्रधानमन्त्री दाहालले सन् २०८० मंसिर ९ मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलले ११ वैशाख २०८१ मा कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि आग्रह गरेका थिए । थानी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका बेला राष्ट्रपति पौडेलले उक्त आग्रह गरेका थिए ।
निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि विपिनको रिहाइका लागि पहल गरेकी थिइन् । २०८१ पुसमा राणाले हमाससँग मध्यस्थता गरिरहेका कतार र इजिप्ट सरकारलाई विपिनको रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।
राणाले १ माघ २०८१ मा कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोनमार्फत हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन् ।
विपिन रिहाइका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत २८ फागुनमा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग संवाद गरेका थिए । गत १० भदौमा राष्ट्रपति पौडेलले जोर्डनका राजालाई पत्र पठाउँदै विपिनको रिहाइका लागि पहल गरेका थिए ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पाले ५ असोजमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री कार्कीसँग विपिनकी आमाले छोराको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक पहल गरिदिन आग्रह गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीलाई भेटेको तीन दिनपछि ८ असोजमा विपिनको रिहाइका लागि प्रयास गर्न आमा र बहिनी अमेरिका गएका थिए । विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उनीहरूको उद्देश्य थियो ।