काठमाडौं- सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको हो ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् । परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो ।
अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए । इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले भने,‘घटनाबारे अनुसन्धान हुँदैछ । संलग्न पत्ता लगाइ कानुनी दायरामा ल्याइने छ ।’
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धानका लागि कुकुर ल्याउने तयारी गरिएको छ ।