काठमाडौं - शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमै बस्ने बताएका छन् । आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै आफू मन्त्रालयमै सुत्ने हुँदा खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
पदभार ग्रहण गरेपछि पत्रकारसँग बोल्दै पुनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको बताए । उनले भने, ‘यो पद ग्रहण गरेपछि म आविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’
अहिले सरकारी क्वाटर पनि छैन, कहाँ बस्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले मन्त्रालयमै बस्ने जवाफ दिए ।‘मेरो त जहाँ काम गर्यो त्यहीँ बस्ने बानी छ । एउटा कोठा बनाउनुस् । मन्त्रालयमै बस्छु । एउटा कुर्सी चाहिन्छ । किचन चाहियो । आफैं पकाएर खान्छु ।’
उनले आफूलाई सुरक्षा पनि नचाहिने बताए । पुनले भने,‘सेवा सुविधा के छ भने त्यहाँबाट आउँदा एउटा पुलिसको र एउटा आर्मीको रहेछ । मैले भाइहरुलाई भनेको छु । रिपोर्ट गर्नु कमाण्डरहरुलाई । म यो मन्त्रालयमा छँदा यहीँ बसौं । यहाँबाट बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन ।’
उनले मन्त्रालयको गाडी भने औपचारिक काममा प्रयोग गर्ने बताए ।