काठमाडाैं - जेन जीहरुको प्रदर्शन संसद भवन अगाडी पुगेसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएकाे छ। जेन जी प्रदर्शनकारीहरूले ब्यारिकेड्स तोडेर संसद भवनको गेटमा पुगेपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काठमाडौं महानगरपालिकाे बानेश्वर क्षेत्रवरिपरी कर्फ्यू आदेश जारी गरेका हुन्।
संसद भवन अगाडी जेन जीहरुले ब्यारिकेड्स तोडेर प्रदर्शन गर्न पुगेपछि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रयोग गरेको थियाे । सांसद भवनको दुई नम्बर गेटमा जेन्जिहरुले आगो पनि लगाएका छन् ।
आदेश अनुसार आज २०८२/०५/२३ गते अपरान्ह १२:३० बजेदेखि राति १० बजेसम्म निर्धारित क्षेत्रभित्र कुनै पनि व्यक्ति आवत–जावत, भेला, जुलुस, सभा वा बैठक गर्न पाउने छैन।
कर्फ्यू आदेश बानेश्वर क्षेत्रका चार मुख्य किल्ला तोक्दै लागू गरिएको छ। बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वतर्फ मिन भवन र शान्तिनगर हुँदै तीनकुने चोकसम्म, उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, र दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू लागू गरिएको छ।
प्रहरी र प्रशासनले आदेश पालना सुनिश्चित गर्न तयारी पूरा गरिसकेका छन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम जारी गरिएको यस कर्फ्यू आदेशको उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही हुनेछ।