जेन-जी अर्थात् सन् १९९७ देखि २०१२ बीचमा जन्मिएका पुस्ता अहिले सरकारविरुद्ध आक्रोशित सुनिएका छन् । १३ वर्षको तन्नेरीदेखि २८ वर्ष पुगेका युवाहरु यो समूहमा पर्छन् । यो समूहलाई न त नेपाली कांग्रेसले राणाविरुद्ध छेडेको आन्दोलनको मतलब छ न त माओवादीले गरेको १० वर्षे जनयुद्धको कुनै चासो छ ।
विकसित देशहरु हाइ-हाइपरसोनिक विमान उत्पादनतिर लागिसकेका उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट देखिसकेका छन् । हाइ-हाइपरसोनिक विमानको गति प्रतिघण्टा सात हजार किलोमिटरभन्दा तीव्र हुन्छ । जबकि, अहिलेको साधारण विमानको गति प्रतिघण्टा ५०० देखि ८०० किलोमिटरसम्म हुन्छ । विकसित देशको शासनसत्ता यति पारदर्शी हुन थाले कि जनताले अब त्यहाँ प्रश्न उठाउने ठाउँ भेट्न मुस्किल हुन्छ । बरु उनीहरु शासन व्यवस्था सफल बनाउन सहयोग गर्ने अवस्थामा पुगिसकेका छन् । यस्तै व्यवस्था पढ्दै हुर्केका जेन–जी पुस्ता अहिले नेपाली शासकको नीतिगत उल्झन्, एउटा कानुन बनाउन वर्षौं लाग्नेजस्ता ढिलासुस्तीले आजित सुनिन्छन् ।
विकासमा ढिलासुस्ती, दैनिक प्रशासनिक कामकाजमा ढिलासुस्ती, कालो धनमाथि संरक्षण, अवैध कारोबार र भ्रष्टाचारले देश ‘ग्रे लिस्ट’मा परिसकेकोलगायत विषयले उनीहरुलाई आजित बनाएको बुझ्न कठिन छैन । वर्तमान अवस्थामा हेर्ने हो भने देश लथालिंग छ । यस्तो अवस्थामा नेताहरु आफूहरुले राणा शासनमा गरेको दुःख र माओवादी युद्धमा भोगेको यातनाका लोरी सुनाएर भुलाउने कोसिसमा छन् ।
जेन-जीलाई यसरी लोरी सुनाउनेहरु बेबी बुमर पुस्ता हुन् जो सन् १९४६ देखि १९६४ भित्र जन्मिएकाहरु हुन् । शासनसत्तामा अहिले यही पुस्ताको राज छ । कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल यही पुस्ताका हुन् । यो पुस्ताको नेतृत्वले अहिले सूचीकरणको नाममा सोसल मिडिया ठप्प पारेको छ । जुन जेन-जीको जीवनयापनको महत्वपूर्ण राजमार्ग थियो । हो अहिले यही राजमार्ग बन्द गरेर सरकार जेन-जीको इच्छाविपरीत काम गरिरहेको छ । बिरालोलाई थुनेर चुटेपछि के होला ?
सरकार अहिले यही अवस्थामा पुगेको छ । सूचनाको राजमार्ग बन्द गर्दा सरकारमाथि बुमर्याङ सिर्जना भएको छ । अब जेन-जी पुस्ता सरकारमाथि जाइलागेको छ । जेन-जीलाई कम आँक्नु सरकारको मूर्खता हुने छ । उनीहरुलाई नभड्काउने ढंगले आजको आन्दोलनमा सरकारले संयमता अपनाउनुपर्छ । अहिले योसँगै नेपोबेबिज् अभियान पनि चर्किंदो छ । यो अभियानबाट सरकारमा भएकाहरुले सिक्नुपर्ने विषय भनेको आफू सुध्रिने हो । सुधारको बाटो बनाऊ, जेन-जीलाई नभड्काऊ ।