हाम्रो मिसन स्पष्ट छ, भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने, ताकि भ्रष्टाचारलाई निष्प्रभावी पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस् ।
जेन-जी पुस्ता
काठमाडौं- देशमा व्याप्त चरम बेथिति र भ्रष्ट राजनीतिको चित्र पूरै बदल्ने मूल संकल्पसहित ‘जेनेरेसन–जेड’ भनिने ‘जेन–जी पुस्ता’ (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) पहिलोपटक सडक संघर्षमा उत्रिँदै छन् । यो पुस्ता यसअघि राजनीतिप्रति मौन थियो । ‘भर्चुअल’ दुनियाँमा अल्मलिएका थिए । तर, आज सरकारविरुद्ध विद्रोहमा होमिँदै छन् ।
देश तथा विदेशमा रहेका भ्रष्टाचारविरोधी नेपालीले जेन-जीको विद्रोह ऐतिहासिक र निर्णायक हुनुपर्ने भन्दै समर्थन गरेका छन् । यसरी वैश्विक समर्थन प्राप्त जेन-जी विद्रोह त्यस्तो बेला देशमा हुँदै छ, जतिबेला इण्डोनेसियामा जेन-जीकै विद्रोहले सत्तापलट भएको छ । युवा-विद्यार्थी सम्मिलित भीषण संघर्षले पछिल्लो एक वर्षमा फिलिपिन्स, बंगलादेश र श्रीलंकामा भ्रष्ट सत्ता ढले । यिनै दृष्टान्तबीच सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएपछि भर्चुअल माध्यम रेडिट, इन्स्टाग्राम र टिकटकमार्फत संगठित जे-जी विद्रोह भौतिकरूपमै प्रकट हुन लागेका हुन् । जेन-जीले जुनसुकै दलमा आबद्ध युवालाई विद्रोहमा स्वागत गरेका छन् । ‘जेन–जी मुभमेन्ट नेपाल’ नाम दिएर आन्दोलनमा उत्रिने यो पुस्ताले आइतबार सूचना जारी गर्दै भ्रष्टाचारलाई निष्प्रभावी बनाउँदै देशमा न्याय, शान्ति र विकास सम्भव तुल्याउने उद्देश्य रहेको स्पष्ट पारेका छन् । ‘हामी नेपालको जेन–जी युवापुस्ता जवाफदेही, पारदर्शिता र सुधारको आन्दोलनका लागि शान्तिपूर्ण, कानुनी र अडिग भएर उभिएका छौं,’ सूचनामा भनिएको छ, ‘हाम्रो मिसन स्पष्ट छ, भ्रष्टलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनिक प्रणालीलाई साँच्चै कानुनी र राजनीतिक हस्तक्षेपविहीन बनाउने, ताकि भ्रष्टाचारलाई निष्प्रभावी पार्न सकियोस् र न्याय, शान्ति र विकास सम्भव होस् ।’

सरकारविरोधी आन्दोलन शान्तिपूर्ण र अनुशासित हुने जनाएका छन् । आन्दोलनमा हिंसा र तोडफोड वा अव्यवस्थाको स्थान नहुने उल्लेख छ । दलहरूलाई आन्दोलन ‘हाइज्याक’ नगर्न पनि जेन-जी पुस्ताको चेतावनी छ । ‘राजनीतिक प्रभाव तथा यो आन्दोलनलाई आफ्नो स्वार्थ वा पार्टीगत एजेण्डाका लागि अपहरण गर्न वा घूसपैठ गर्न प्रयास नगर्नुहोला । यो राजनीतिक लाभका लागि होइन, यो नेपालको भविष्यका लागि हो,’ सूचनामा छ । सरकारलाई शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न पनि आग्रह गरिएको छ । आन्दोलनको क्रममा हिंसा वा अवैध बल प्रयोग गरिए सरकारले मानवअधिकार उल्लंघन गरेको अर्थमा बुझिने उल्लेख छ । यही पुस्ताका कतिपयले अहिले टिकटकमा नेताका छोराछोरी र आफन्तको विलासी जीवनशैलीलाई पर्दाफास गर्ने अभियान ‘नेपोबेबी’ समेत चलिरहेको छ । इण्डोनेसियाबाट सुरू भएको यो अभियान अहिले नेपालमा आइपुगेको हो । उच्च तहका नेता र कर्मचारीहरूका सन्तानका विलासी जीवनशैली फर्दाफास गरिएका भिडियोहरू टिकटकमा भाइरल भइरहेका छन् । नेताका छोराछोरीले अपनाउने विलासितापूर्ण जीवनशैलीका लागि आर्थिक स्रोत के हो ? प्रश्न उठाएका छन् । चरम भ्रष्ट राजनीतिप्रति उनीहरूको निष्कर्ष छ, ‘हामी गरिब होइन, हामी लुटिएका छौं ।’ उनीहरूले ‘वाक अफ नेपाल’ अभियान पनि चलाएका छन् ।
यसरी यो पुस्ताले गर्ने आन्दोलन स्वाभाविक भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रमुख विपक्षी नेता पुष्पकमल दाहालले आन्दोलनमा बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमाथि रोक लगाउने गलत सरकारी कदमलाई जेन–जी पुस्ताको आन्दोलनको आधार मानेका छन् । आइतबार साँझ प्रतिबन्धित फेसबुकमै स्टाटस लेख्दै दाहालले भने, ‘सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ, प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् ।’ जेन-जी पुस्ताको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन जनाएको छ । सरकारको शृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हनन्का विरुद्ध रास्वपाले सदनदेखि सडकसम्म आवाज उठाइरहेको भन्दै यस्तोबेला जेन-जीसमेत सशक्त ढंगले सडकमा आउन आँट गर्नु उल्लेख्य राजनीतिक परिघटना भएर रास्वपाले उल्लेख गरेको छ ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा जेन–जीले उठाएका विषयहरूलाई निष्कर्षमा पु¥याउन अपिल गरिएको छ । ‘नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं बक्रदृष्टिमाथि हाम्रो निगरानी रहने छ । जेन–जीले उठाएका विषयहरूलाई निष्कर्षमा पु¥याउन अपिल गर्दै जेन–जीको यो प्रयासलाई बिथोल्ने, घूसपैठ र दमन गर्नेलगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेन–जीको आवाज बेलैमा नसुनिए पछि पछुताउनुपर्ने बताएका छन् । उनले जेन–जीलाई राजनीतिक दाउपेचको खासै मतलव नगर्ने र देशमै बसेर केही गर्छु भन्ने होनाहार युवाहरू भएको बताएका छन् ।
सत्ता नेतृत्व दल नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जेन–जीलाई कसैले रोक्न नसक्ने भन्दै जेन–जी आन्दोलनप्रति समर्थन जनाएका छन् । राजनीतिशास्त्री कृष्ण पोखरेलले पनि जेन-जी विद्रोहप्रति ऐक्यबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘म आन्दोलनस्थलभन्दा टाढा विराटनगरमा छु तर मेरो मन मुटु जेन-जीहरूद्वारा आह्वान गरिएको वेकअफ नेपाल क्याम्पेन आन्दोलनको साथमा छ ।’ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पनि जेन–जी आन्दोलनप्रति समर्थन जनाएका छन् । उनको समर्थनप्रति युवा पुस्ताको ठूलो संख्याले आभार प्रकट गरेको छ । कांग्रेसको कार्यसम्पादन समिति बैठकमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोध भएको छ । उज्यालो नेपाल अभियानका नायकका रूपमा चर्चित कुलमान घिसिङ पनि जेन–जी आन्दोलनको पक्षमा देखिएका छन् ।
सत्तारुढ दल कांग्रेसको नेपाल विद्यार्थी संघ, एमालेको अनेरास्ववियुसहित १७ विद्यार्थी संगठनले सामाजिक सञ्जाल तत्कालन सञ्चालनमा ल्याउन माग गरेका छन् । नेपाल पत्रकार महासंघ त सडक संघर्षमा उत्रिएको छ । महासंघको ब्यानरमा पत्रकारहरूले सरकारले नागरिकको आवाज थुनेको भन्दै आलोचना गरेका छन् ।
यहीबीच सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्धको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आइतबार अस्वीकार गरेको छ । अधिवक्ता डा. सुनिलरञ्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्याललाई विपक्षी बनाएर निवेदन पेस गरेकोमा रजिस्ट्रार मानबहादुर कार्कीले दर्ता नगर्ने निर्णय गरेका हुन् ।
आन्दोलनमा उत्रिएको जेन-जी पुस्ता भने प्रविधिमा अब्बल छन् । एआई प्रयोगमा पनि यो पुस्ता अभ्यस्त छ । त्यही भएर उनीहरू सामाजिक सञ्जालमा करिअर बनाइरहेका छन् । कोही आइटीविज्ञको रूपमा कार्यरत छन् । कोही वैधानिक ह्याकर बनेर घरमै बसेर लाखौं कमाइरहेका छन् । तर, सरकारले सूचीकरण नगरेका फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने कदम चालेको छ । यसपछि छट्पटिएका जेन–जी पुस्ताले सुरुमा सामाजिक सञ्जालकै अन्य प्लेटफर्ममा असन्तुष्टि पोखेका नेपोबेबी अभियानमा सक्रिय सदस्य अभिजित अधिकारीले बताए । प्रभावलाई उनले दिएको जानकारी अनुसार सरकारको निर्णयपछि उनीहरू रेडिट, डिस्कोर्ड, जुम, भाइबरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुन थाले ।
त्यहाँ उनीहरूले आफ्ना असन्तुष्टिहरू पोख्न थाले । परिणामतः एउटा समूह जन्मियो, आर सोसल । त्यो समूहमा आदित्य मिश्र, अभिजितजस्ता हजारौं युवाहरू जोडिए । अन्ततः आज सरकारविरुद्ध प्रदर्शन गर्ने स्थितिमा उनीहरू आइपुगेका हुन् । जेन-जी पुस्ता आन्दोलित हुनुअघि नै सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा तैनाथीका लागि सुरक्षाकर्मी बढाएको छ ।
प्रधानमन्त्री ओली भन्छन् 'जेन–जीले कानुन बुझ्छ'
प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जीले देशको कानुन बुझ्ने बताएका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत प्रस्तुतीकरणपछि बोल्दै उनले जेन–जी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी भएको पनि बताए ।
‘कतिपयले जेन–जी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्, तर जेन–जी पुस्ता देशलाई माया गर्छ । देशको कानुन बुझ्छ । जेन–जी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी हो,’ ओलीले भने । उनले सामाजिक सञ्जाल बन्द हुनुलाई केही बुद्धिजीवी भनिनेहरूले वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम फैलाएको आरोप लगाए ।
‘मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहको छ,’ उनले भने, ‘कानुनको दायरामा आउन भन्दा नआएपछि सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन् ।’ जेन–जीले भने सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोध गर्दै आज काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै छन् ।