काठमाडौं– धनुषाको मिथिला नगरपालिका–८ का चन्दन सिंह वैदेशिक रोजगारीमा जान विभिन्न संस्था धाउन थालेको दुई वर्ष भयो । घरको समस्या सल्टाउन सक्दो चाँडो विदेश उड्ने नीति लिएर सिंह म्यानपावरदेखि कन्सलटेन्सी धाए ।
तर सिंहले सोचे झैं ती संस्थाबाट काम अघि बढेन । यही मेसोमा २४ वर्षीय सिंहको ध्यान सामाजिक सञ्जाल फेसबुकमा भेटिएको विज्ञापनले तान्यो । युरोपियन मुलुक क्रोएसियाका लागि कामदार मागिएको थियो । उनी कमेन्ट हुँदै मेसेन्जरमार्फत एजेन्टसँग जोडिए ।
कम्पनीबाट प्रक्रिया पनि शुरु भयो । उनको करार आएसँगै वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि लिए । झन्डै दुई लाख खर्च गरिसकेपछि उनी विदेश उड्न तयार भए । तर त्यहीबेला भिजा नक्कली प्रमाणित भयो अनि एजेन्ट पनि सम्पर्कबिहीन बने । जबकि श्रम स्वीकृतिदेखि सबै प्रक्रियामा उनलाई बोलाइएको कम्पनीको नाम, ठेगाना आधिकारिक नै थियो ।
चन्दनको श्रम स्वीकृति आएको देखेर चिनजानका दुई जनाले पनि प्रक्रिया अघि बढाए । झापाका ३७ वर्षीय घनश्याम दाहाल र सल्यानका २१ वर्षीय विष्णुप्रताप केसी पनि त्यही काम र त्यही कम्पनीमै जाने तयारीमा थिए । उनीहरुको पनि भिजा आयो । तर सिंहको भिजा नक्कली प्रमाणित भएपछि उनीहरु अलमलमा परेका छन् – दुई दुई लाख फसिसक्यो, अब के गर्ने ?
क्रोएसियाका एजेन्टले उनीहरुलाई चार जना फरकफरक व्यक्तिको खातामा रकम पठाउन लगाएको भेटिएको छ । एजेन्टसँग ह्वाट्सएपमार्फत सम्पर्क बढाएको उनीहरु बताउँछन् । ती नेपाली एजेन्ट कहाँका हुन्, को हुन् भन्ने कुनै प्रमाण आफूहरुसँग नरहेको सिंहले सुनाए । उनको ह्वाट्सएपमा नम्बरअनुसार फरक नाम र फोटो भेटिएको पीडित युवाले बताए । ती कसरी भयो ठगी ?
चन्दनले ‘सगर्दा एचआर सोलुसन’ नामको पेज फेसबुक पेजमार्फत प्रक्रिया अघि बढाएका थिए । उक्त पेजमा क्रोएसियाका लागि कामदार माग भएको सूचना थियो । एजेन्टले ह्वाट्एपमार्फत नम्बर दिएपछि कुराकानी सुरु भयो । सिंहले सुपरमार्केटमा काम मिलाउन भन्दै प्रक्रिया थालेका थिए । ‘एजेन्सीले क्लिनिङमा मात्र डिमान्ड दिन्छ । उता गएपछि भनेकै काम मिल्छ भनेको थियो,’ सिंहले भने ।
त्यसपछि क्रोएसियाबाटै श्रम स्वीकृति आयो । सबै कागजात ठीकठाक लागेपछि उनले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पनि गराए । म्यानपावर र कन्सलटेन्सी धाएर थाकेका सिंहको यही कम्पनीबाट भने छिटछिटो काम बन्यो । भिजा पनि सोचेभन्दा चाँडै हात लाग्यो । ‘भिजा हातमा पर्नेबित्तिकै मलाइ शंका लाग्यो । मेरो भिजाको मेसिन रिडेबल जोन (एमआरजेट) र क्रोएसियामा भएको साथीको भिजा फरक थियो । त्यहाँ भिजा नम्बर, जन्ममिति, जेन्डर, एक्सपायरी डेट र इस्यू डेट हुन्छ ।
यसको सिक्वेन्स मिलेको थिएन,’ उनले भने, ‘एउटा स्पेस हुने ठाउँमा दुई वटा स्पेस, एरोको साइज अन्य अंकजत्रै हुनुपर्ने ठाउँमा सानो छ । कपीपेस्ट गरेजस्तो डार्क पनि देखेँ । मेरो भिजामा किन फरक छ भनेर सोधेँ । एजेन्टले एक वर्ष अघिको र अहिलेको फम्र्याट चेन्ज भइहाल्छ नि भन्यो ।’
एजेन्टले कम्पनीमा कामदार अभाव भएकाले छिटो काम हुने बताउँदै पैसा तिर्न दबाव दिन थाले । सिंहले अरु साथीलाई पनि भिजा सक्कली हो या नक्कली भनेर जाँच्न लगाए । साथीहरुले भिजा नक्कली भएको दाबी गरे । तर एजेन्टले भने नक्कली नभएको दाबी जारी राखे । भारतस्थित दूतावासबाट भिजा जाँच गराएपछि मात्र आफूले थप पैसा तिर्ने सिंहको अडानपछि एजेन्टले पोखरामा भएको आफ्नो साथीसँगै दूतावास जान तयारी गरे । भदौ १८ गतेका लागि दूतावासमा समय लिइएको थियो । त्यसयता ती एजेन्ट सम्पर्कविहीन छन् ।
‘हामीसँग संयन्त्र छैन, आफैं सजग बनौं’
भिजा सही हो÷होइन भनेर विभागले छुट्याउन नसक्ने भएर भिजा लिएर आउने व्यक्ति स्वयम्लाई थाहा हुनुपर्ने वैदेशिक रोजगार विभागको भनाइ छ । कम्पनीले पेश गरेको भए कम्पनी जवाफदेही हुने र व्यक्तिले पेश गरेको भए व्यक्ति जवाफदेही हुने विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटी बताउँछन् ।
‘हामीले त अपलोड भएका कागजातको आधारमा सम्बन्धित व्यक्तिले सम्बन्धित ठाउँबाट भिजा प्राप्त गरें, यसको सम्पूर्ण जिम्मेवार म हुन्छु भनेर निवेदन हालेपछि श्रम स्वीकृति दिने हो । त्यसको जवाफदेही विभाग हुँदैन नि,’ सिवाकोटीले भने, ‘भिजा विज्ञ हामी होइनौँ । हामीसँग संयन्त्रै छैन । सम्बन्धित व्यक्ति आफैं सजग हुनुपर्छ ।’