बैंकक - दुई वर्षभन्दा बढी समयदेखि अस्पतालमा गम्भीर बिरामी अवस्थामा उपचाररत थाई राजाकी जेठी छोरी यसै महिना रगतको सङ्क्रमणसम्बन्धी समस्याबाट मुक्त हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।
राजकुमारी बज्रकितियाभा महिडोल सन् २०२२ को डिसेम्बरमा सैनिक कुकुरको प्रशिक्षण सत्रका क्रममा अचेत भएपछि बिरामी अवस्थामा अस्पतालमै उपचाररत हुन् । दरबारका अनुसार यसै महिना उनको रगतमा गम्भीर सङ्क्रमण भएको थियो र उनको रक्तचाप स्थिर गर्न निरन्तर उपचार भइरहेको थियो।
“राजकुमारीको मेडिकल टिमले उनको सङ्क्रमण राम्रो हुँदै गएको र रक्तचाप स्थिर भएको जानकारी दिएको छ,” राजपरिवार ब्यूरोले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। “मेडिकल टिमले सङ्क्रमण नियन्त्रणका लागि एन्टिबायोटिक दिने क्रम जारी राखेको छ र उहाँको फोक्सो र मृगौलाको कामका लागि मेसिनको प्रयोग गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
बेलायत, संयुक्त राज्य अमेरिका र थाइल्याण्डमा पढेकी बज्रकितियाभाले संयुक्त राष्ट्रसङ्घमा विभिन्न पदहरू सम्हालेकी र जेलमा रहेका महिलाहरूको राम्रो व्यवहारको लागि अभियान चलाउँदै आएका थिए।थाइल्याण्डमा ‘प्रिन्सेस भा’ भनेर चिनिने ४६ वर्षीया उनी राजा महा वजिरालोङकोर्नको पहिलो विवाहबाट जन्मिएकी एक मात्र सन्तान हुन् ।
उनलाई परिवारमा राजाको निकट सदस्यको रूपमा हेरिन्छ र अस्पताल भर्ना हुनुभन्दा एक वर्ष अघि उनलाई थाई नरेशको अङ्गरक्षक कमान्डमा वरिष्ठ भूमिकामा नियुक्त गरिएको थियो।चार वटा विवाहबाट सात सन्तान जन्माएका ७३ वर्षीय राजाले आफ्नो उत्तराधिकारीको घोषणा भने गरेका छैनन् ।