काठमाडौं– पूर्वपञ्चहरू दल खोलेर राजनीतिमा साढे तीन दशकदेखि सक्रिय छन् । जनमतको हिसाबले उनीहरू आबद्ध ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हो । वर्तमान अध्यक्ष छन्- राजेन्द्र लिङ्देन ।
२०७९ को चुनावबाट प्रतिनिधिसभामा राप्रपा पाँचौं ठूलो दलको हैसियतमा छ । रुपन्देही-३ का सांसद दीपक बोहराको निधनपछि १३ जना सांसद राप्रपाको छ । २०७४ मा लिङ्देन राप्रपाका एक्ला सांसद निर्वाचित थिए, जतिबेला पार्टी अध्यक्ष कमल थापा थिए । राप्रपाले त्यसबेला जनमत गुमायो । शक्तिहीन बन्यो । चार वर्षपछि २०७८ मा पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्ष निर्वाचित भए । लिङ्देनसँग पराजित हुनुमा थापाले निर्मल निवासलाई दोषे । अनि, राजतन्त्रलाई नबोक्ने भन्दै गणतन्त्रको लाइनमा उभिए । राप्रपा नेपाल ब्युँताए । थापा एमालेसँग गठबन्धन गर्दा पनि एक सिट जित्न अक्षम भए, जबकि लिङ्देनले पार्टीलाई पाँचौं दलसहित शक्तिमा फर्काए ।
यसबीचमा संवैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग सदन र सडकबाट खुबै चर्कियो । गणतन्त्रको जग हल्लियो । तर, यतिबेला भने राप्रपाकै जग हल्लिएको छ । पार्टी धर्मराएको छ । कारण, लिङ्देन पार्टीमा आफ्नो निर्णय र कदमलाई लिएर फरक मत राख्नेमाथि निर्ममतापूर्वक प्रस्तुत भइरहेका छन् । पद खोस्नेदेखि पार्टीबाटै हटाउने कार्य गरेका छन् । पार्टीकै युवा नेताहरूलाई ‘गुण्डा’ भन्दै हियाउने गरेका छन् । पार्टीभित्रको फरक विचार समूहमाथि निषेधको राजनीति गर्ने रणनीतिमा उनी देखिन्छन् । यसप्रति पार्टीको फरक विचार समूहको नेतृत्व गर्ने महामन्त्री डा. धवलशमशेर जबरापक्षबाट प्रतिवाद हुँदै आएको छ ।

जबरापक्षीय केन्द्रीय कार्यसम्पादन समिति सदस्य जनकराज पाठकले लिङ्देनमा ‘अप्रजातान्त्रिक चिन्तन’ देखिएको टिप्पणी गरेका छन् । ‘एउटा जीवन्त पार्टीमा फरक मत हुन्छ । फरक मत नै प्रजातान्त्रिक संस्कार हो,’ उनले फरक मत राख्दा अध्यक्ष लिङ्देन तर्सिएको भन्दै सामाजिक सञ्जाल फेसबकुमा लेखेका छन्, ‘फरक मतबाट कोही तर्सिनु वा झस्किनु अप्रजातान्त्रिक चिन्तन वा सोच हो ।’ लिङ्देनको कदम र कार्यशैलीको विरोध गर्नेहरू कारबाहीमा परेका छन् । पार्टी संगठन विभाग प्रमुखबाट महामन्त्री डा. धवल नै हटाइएका छन् । अनुशासन आयोगको संयोजकबाट वरिष्ठ नेता नवराज सुवेदी, प्रवक्ताबाट सगुनसुन्दर लावती र नेता धनसुर शाहीलाई पनि संगठन विभागबाट हटाइदिए । पार्टी महामन्त्री धवलसहित पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत गुहार माग्दै निर्वाचन आयोग पुगेका छन् । लिङ्देनको निर्णय बदर गर्नुपर्ने उनीहरूको माग छ । उनीहरू लिङ्देनविरुद्ध मोर्चाबन्दीमा देखिएका छन् । तर, लिङ्देनले चुनौती र चेतावनीपूर्ण भाषामा भन्दै आएका छन्, ‘मलाई मन परेन भने महाधिवेशन कुर्नू, पराजित गरेर देखाउनू, यति विचार नै मन नपरे पार्टी छाडेर जानू ।’
राप्रपाको विवाद त्यस्तो बेला भयो, जतिबेला पार्टी महाधिवेशनको सम्मुखमा छ । नियमित समयमा महाधिवेशन भए आगामी मंसिरमा हुन्छ । तर, पूर्वतयारीलाई आधार मान्दा लिङ्देन मंसिरमा महाधिवेशन गर्न इच्छुक छैनन् । उनी विधानले दिएको सुविधाअनुसार एक वर्षपछि महाधिवेशन गर्ने मनस्थितिमा छन् । हालै पार्टी उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री जबराले लिङ्देनलाई पत्र लेख्दै मंसिरमै महाधिवेशन गर्न दबाब दिएका छन् । लिङ्देनले भने बेवास्ता गरेका छन् । यसरी दिनप्रतिदिन पार्टीमा विवाद चुलिँदो छ । कतै पार्टी नै विभाजनको दिशामा त छैन ? कार्यकर्तापंक्तिमा संशय देखिएको छ । राजनीतिशास्त्री डा. तारानाथ घिमिरेको शब्दमा राप्रपालाई शक्तिले पोल्छ । ‘जतिबेला राप्रपाले चुनावबाट शक्ति आर्जन गर्छ, जहिल्यै किचलो हुन्छ, त्यस्तो किचलो पार्टी सत्ता र राज्यसत्तलाई लिएर हुन्छ । मलाई लाग्छ कि शक्तिले राप्रपालाई पोल्छ,’ उनले प्रभावसँग भने । विगत हेर्दा शक्तिमा फर्किएको बेला उत्पन्न किचलोले राप्रपालाई फुटको तहसम्म पु¥याउने गरेको दृष्टान्त छ । कतिपय नेताले त दल नै खोल्ने गरेका छन् । २०६२ सालमा कमल थापाको नेतृत्वमा राप्रपा नेपाल गठन भयो । पछि २०६९ मा राष्ट्रिय जनशक्ति पार्टी र पशुपति शमशेर जबरा अध्यक्ष रहेको राप्रपाबीच एकता भयो र राप्रपाका विभिन्न समूहबीच २०७३ फागुन ६ गते एकीकृत पार्टीको एकता महाधिवेशन भएको थियो । एकता महाधिवेशनको केही महिनामै फेरि राप्रपामा पुनः फुटको सुरुआत भयो ।
तर, २०७३ चैत १६ गते प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी स्थापना भयो । २०७४ साउन २२ गते कमल थापासँग असन्तुष्टि राख्दै पशुपतिशमशेर राणाद्वारा राप्रपा (प्रजातान्त्रिक) गठन गरे । थापा, राणा र लोहनी २०७० को संविधानसभा चुनावबाट जनमत राम्रै भएपछि एक भएका थिए । सत्ताको बार्गेनिङ पावर बढेको थियो । तर, चार वर्ष नबित्दै तीन टुक्रा भयो । जनमतको आधारमा शक्तिमा आएका पूर्वपञ्चहरू विभक्त भए । पछि २०७५ मा पशुपति नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र प्रकाशचन्द्रको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच एकता भयो । २०७६ मा भने थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालसँग एकता भयो । २०७८ सालमा भएको पार्टी महाधिवेशन प्रक्रियामा निर्मल निवासले गरेको हस्तक्षेपले पराजित भएको भन्दै कमल थापा राप्रपा नेपाल ब्युँताएर बसेका छन् । राप्रपा भने गणतन्त्रको डेढ दशकमा देश बर्बादीतर्फ गयो भन्ने जनताबाट प्राप्त जनमतले पाँचौं शक्तिको हैसियतमा प्रतिनिधिसभामा छ । यस्तोबेला चर्किंदो दुई लाइन संघर्षले पार्टी एकीकृत रूपमा नरहने हुन् कि भन्ने शंका कार्यकर्ता तहमा देखिएको छ । राजनीतिक विश्लेषक घिमिरे राप्रपामा अन्तरकलह बढ्नुमा पार्टी र राज्यसत्ताको स्वार्थ मूल कारण रहेको बताउँछन् । कहिलेकाहीँ नेतृत्वको विषयलाई लिएर पनि फुट्ने गरेको छ । ‘२०४७ मा राप्रपा जन्मिँदै दुईवटा भएर आयो, चन्द र थापा नाममा । त्यसो हुनुको कारण पार्टी नेतृत्व कसले गर्ने भन्नेमा एकमत नहुनाले हो र पछिल्लो फुट र अन्तरकलहलाई हेर्दा पार्टी र राज्यसत्तासँग जोडिएको स्वार्थ मूल कारण देख्छु,’ उनले भने ।
हाल राप्रपामा १३ जना प्रतिनिधिसभा सदस्यमध्ये अध्यक्ष लिङ्देनसँग बुद्धिमान तामाङ, रोशन कार्की, बिना लामा, ज्ञानेन्द्र शाही र दीपक सिंह निकट छन् । संसदीय दलमा बहुमत सदस्य लिङ्देनसँग छन् । महामन्त्री धवलसँग भने विक्रम पाण्डे, अनिशा नेपाली र बिना जैसवाल छन् । पशुपतिशमशेर जबरा र ध्रुवबहादुर प्रधान तटस्थ छन् । सांसद गीता बस्नेत सहकारी प्रकरणपछि निलम्बित छिन् । यसरी गत आम चुनावबाट शक्तिमा फर्किएको राप्रपामा सांसदहरू नै विभक्त भइसकेका छन् । पदाधिकारी, कार्यसम्पादनदेखि केन्द्रीय समितिसम्मै नेताहरू मनोवैज्ञानिक रूपमा विभाजित भइसकेका छन् ।