काठमाडौं- पछिल्लो १० वर्षमा ५९ लाखभन्दा वैदेशिक रोजगारीमा जाँदा मुलुकमा १०२ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । मुलुकमा रोजगारीको अवसर नहुँदा रोजगारीका लागि विदेसिने क्रम निरन्तर बढ्नुलाई विज्ञहरुले चिन्ताको विषय भएको बताउँदै आएका छन् । अर्कोतर्फ, यसरी विदेसिने श्रमिकहरुले पठाउने रेमिट्यान्सको आकार बढ्दै जाँदा मुलुकको अर्थतन्त्रलाई ठूलो टेको मिलेको छ ।
वैदेशिक रोजगारीका कारण विदेशी मुद्रा भित्रिएर अर्थतन्त्रलाई चलायमान बनाएको छ । अहिले मुलुकको अर्थतन्त्रको करिब एक तिहाइ हिस्सा रेमिट्यान्सले धानेको तथ्यांक छ । तर, अर्थविद्हरु यसलाई दिगो बनाउन नहुनेमा जोड दिन्छन् । रेमिट्यान्समा धानेको अर्थतन्त्र जुनसुकै बेला संकटमा पर्ने भएकोले उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने उनीहरुको भनाइ छ । उत्पादनमा जोड दिँदै स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा सबैको एकमत देखिन्छ । सरकारले पनि बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्ने घोषणा गरेको छ । यद्यपि, त्यसका लागि प्रभावकारी काम गरेको भने देखिँदैन ।
कुन आवमा कति विदेसिए ?
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको अवधिमा कूल ५९ लाख १७ हजार ४६४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको देखिन्छ । यो संख्या व्यक्तिगत, संस्थागत तथा पुनः श्रम स्वीकृति लिएर गएकाहरुको हो ।
उक्त अवधिमा गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा धेरै आठ लाख ३९ हजार २६६ जना रोजगारीमा गएको तथ्यांक छ । यसबीचको आव २०७६/७७ र २०७७/७८ मा भने कोरोना महामारीका कारण रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । यी दुई आवमा क्रमशः तीन लाख ६८ हजार ४३३ र एक लाख ६६ हजार ६९८ जनामात्र रोजगारीमा गएका थिए । यसबाहेकका आवमा पाँचदेखि सात लाख युवाहरु रोजगारीमा गएको तथ्यांकमा देखिन्छ ।
उक्त अवधिमा छ वटा खाडी मुलुक र मलेसिया नै प्रमुख रोजगार गन्तव्य बनेका थिए । पछिल्लो समय युरोपेली मुलुकहरुमा रोजगारीमा जानेहरु बढ्दै गएका छन् । विशेषगरी कोरोना महामारीपछि युरोप जाने संख्या बढेको तथ्यांकमा देखिन्छ । युरोप जानेहरुमा व्यक्तिगत श्रम स्वीकृति लिने बढी रहेका छन् ।
निरन्तर बढ्दै रेमिट्यान्स
पछिल्लो १० आर्थिक वर्षको तथ्यांक हेर्दा वैदेशिक रोजगारीबाट १०२ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको अवधिमा १०२ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम वैधानिकरुपमा (बैंकिङ च्यानलमार्फत) आएको रेमिट्यान्स मात्र हो ।
यस अवधिमा सबैभन्दा बढी विप्रेषण गत आव २०८१/८२ मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ आएको छ । सबैभन्दा कम भने आव २०७२/७३ मा छ खर्ब ६५ अर्ब छ करोड रुपैयाँ प्राप्त भएको थियो । आव २०७२/७३ मा छ लाख ४० हजार ९८१ जना रोजगारीमा गए पनि मुलुक भित्रिएको रेमिट्यान्स तुलनात्मकरुपमा कम देखिएको छ । तथ्यांक हेर्दा रोजगारीमा जाने संख्या वार्षिकरुपमा थपघट भए पनि मुलुकमा भित्रिने रेमिट्यान्स भने निरन्तर बढ्दै आएको छ । आव २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जना रोजगारीमा जाँदा पनि आठ खर्ब ७५ अर्ब तीन करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । अझ आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनामात्र रोजगारीमा गएका थिए । यद्यपि, उक्त आवमासमेत अघिल्लो वर्षकोभन्दा बढी नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ विप्रेषण प्राप्त भएको राष्ट्र बैंकको तथ्यांक छ ।
पठाउन श्रमिकहरुलाई प्रोत्साहन गर्न थालेसँगै रेमिट्यान्समा बृद्धि भएको देखिन्छ । यद्यपि, विभिन्न सरकारी अध्ययनका अनुसार अझै पनि ७५ प्रतिशतमात्र रेमिट्यान्स वैधानिक माध्यमबाट भित्रन्छ । हुण्डीलगायतका अवैधानिक माध्यमबाट पैसा पठाउने परिपाटी घट्दै गएपनि नियन्त्रणमा आउन सकेको छैन । समीक्षा अवधिको पहिलो आव २०७२/७३ मा छ लाख युवा विदेसिएकामा पछिल्लो आव २०८१/८२ मा आइपुग्दा रोजगारीको खोजीमा विदेसिनेको संख्या आठ लाख नाघेको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दा पनि मुलुक भित्रने रेमिट्यान्स बढेको छ । यसका साथै रोजगारीमा जाने उच्च दक्ष र दक्ष श्रमिकको संख्यामा भएको वृद्धि, आकर्षक तलब हुने युरोपेली मुलुक जानेहरुको बढ्नुलगायतका कारणले पनि रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।