काठमाडौं- काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइने इन्द्रजात्रा नजिकिँदै छ । इन्द्रजात्रा नजिकिएसँगै वसन्तपुर क्षेत्रमा जात्राको तयारी द्रुत गतिमा अगाडि बढाइएको हो ।
भाद्र शुल्क चतुर्दशका दिन विशेष रूपमा मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत अवलोकन गर्ने परम्परा रहिआएको छ । अहिले अतिविशिष्ट व्यक्तिहरू जाने मुख्य स्थान गद्धि बैठक वरिपरि रङरोगन र सरसफाइको काम भइरहेको छ । त्यसैगरी कुमारी घर र अन्य मठमन्दिरमा पनि सजावटको काम भइरहेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए । प्रमुख प्रधानले रङरोगनसँगै झल्लर राख्ने, बत्ती व्यवस्थापन काम समेत भइरहेको बताए । ‘जात्रा लगिने विभिन्न रुटका बाटो बनाउने, स्वयंसेवक जुटाउने, आर्थिक स्रोत व्यवस्थापन गर्नेलगायत कार्य भइरहेको छ,’ उनले भने,‘यो जात्राले उपत्यकाको पहिचान बोकेको छ, जात्रा अवधिभर उपत्यकामा बेग्लै रौनक हुन्छ ।’
जात्राका पहिलो दिन विभिन्न खाले नाच देखाउने चलन छ । यस दिन लाखे, दश अवतार, भैरव, आकाश भैरव, देवी, महाकालीलगायत नाच देखाइन्छन् । यो क्रम जात्राभर कायम रहनेछ । नाच सुरु भएको तेस्रो र चौथो दिन कुमारी र भैरवको रथयात्रा सुरु हुन्छ । रथयात्राको मुख्य रुट वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टङ्गाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत हो । करिब ३०० वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा यो जात्रा सुरु गरिएको मानिन्छ ।
स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आएको भनाइसँग उक्त एतिहासिक जात्रा जोडिएको छ । इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकोलाई काभ्रेको नालास्थित जङ्गलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिङ्गो बनाउने चलन छ । यसरी तयार पारिएको ‘योंसी’ अर्थात् लिङ्गोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने गरिन्छ ।
इन्द्रजात्रामा मुख्यतः लिङ्गो स्थापना गर्ने, नाचगान गर्ने र रथयात्रा गर्ने गरिन्छ । भाद्र शुक्लपक्ष ‘यलाथ्व द्वादशी’का दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको जात्रा ‘यंलागाः चौथी’मा इन्द्रध्वज पतनपछि सकिन्छ ।