काठमाडौं- हालै सम्पन्न निर्वाचनको नतिजा सार्वजनिक भएसँगै धरान उपमहानगरपालिकाका पुर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह चुलिएको छ। प्रत्यक्षतर्फ ३ सिटमा सानदार जित निकालेर राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी उपस्थिति जनाएको यस पार्टीलाई अहिले समानुपातिकतर्फ प्राप्त ४ सिटले भने "निल्नु न ओकल्नु" बनाएको छ।
समानुपातिक सांसद चयनको विषयलाई लिएर पार्टीका शीर्ष तहदेखि कार्यकर्तासम्म तीव्र असन्तुष्टि र गुटबन्दी देखिएपछि मेयर साम्पाङ आक्रोशित बनेका छन्।
समाला राईको कडा चेतावनी: "जनजाति कोटामा मेरो नाम नपरे राम्रो हुने छैन"
पार्टीभित्रको विवाद त्यसबेला थप उत्कर्षमा पुग्यो जब समानुपातिकतर्फको बन्दसूचीमा रहेकी समाला राईले मिडियामार्फत नेतृत्वलाई खुला चुनौती दिइन्। उनले सिधै अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै आफ्नो नाम जनजाति कोटामा सुनिश्चित हुनुपर्ने अडान राखेकी छिन्।
राईले मिडियासँग कुरा गर्दै भनिन्, "हर्क दाइले बुझ्नुहुन्छ समानुपातिकमा कसलाई पठाउने भन्ने कुरो अध्यक्षको हातमा हुन्छ, मैले अन्त पनि बुझेकी छु। यदि जनजाति कोटामा मेरो नाम नपरे राम्रो हुने छैन।" उनको यो भनाइले पार्टीभित्र सिट बाँडफाँटलाई लिएर ठूलो विद्रोहको संकेत गरेको छ। आफ्नो नाम नपरेमा कडा कदम चाल्ने उनको आशयले पार्टीको आन्तरिक एकतामा गम्भीर प्रश्न उठाएको छ।
सामाजिक सञ्जालबाटै निष्कासनको चेतावनी
विवाद सतहमा आएपछि हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, "अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु! हद भो!!!"साम्पाङको यो आक्रोशले पार्टीभित्रको विवाद कुन हदसम्म पुगेको छ भन्ने स्पष्ट पार्छ। अर्को एक पोस्टमा उनले लेखेका छन्, "भात खाऊ! मेरो टाउको नखाऊ!"। यसले पार्टीका नेता र आकांक्षीहरूले उनलाई समानुपातिक सिटका लागि ठूलो दबाब दिइरहेको बुझ्न सकिन्छ।
विवादको चुरो: को बन्ने सांसद?
श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३,८५,९०२ मत प्राप्त गरेको देखिन्छ, जसले गर्दा सो पार्टीले ४ जना सांसद पठाउन पाउने निश्चित भएको छ। पार्टी स्रोतका अनुसार, चुनावमा खटिएका पुराना कार्यकर्ता र योगदान पुर्याएका व्यक्तिहरूलाई पाखा लगाएर नेतृत्वले 'खास' मान्छेलाई सांसद बनाउन खोजेको भन्दै पार्टीभित्र विद्रोहको स्थिति सिर्जना भएको हो। समानुपातिकको सूचीमा नाम समावेश भएका तर अन्तिम छनोटमा नपर्ने संकेत पाएका सदस्यहरूले पार्टीभित्रै समानान्तर गतिविधि गर्ने र विद्रोह गर्ने चेतावनी दिएको जस्तो देखिन्छ। ।
पार्टी एकतामा चुनौती
प्रत्यक्षतर्फको जितले उत्साहित बनेका समर्थकहरू अहिलेको आन्तरिक कलहले निराश भएका छन्। यदि साम्पाङले यो विवादलाई बेलैमा व्यवस्थापन गर्न सकेनन् भने, भर्खरै उदाएको यो शक्ति "फुटको राजनीति" मा फस्ने निश्चित देखिन्छ।समर्थक अनुसार, नयाँ पार्टीहरूमा पद र अवसरको बाँडफाँट नमिल्दा यस्ता समस्या आउनु स्वभाविक भए तापनि साम्पाङको "कारबाही गर्ने" ठाडो शैलीले कार्यकर्ताहरूमा झन् त्रास र असन्तुष्टि फैलाउन सक्छ त्यसैले सम्झाएर प्रशिक्षण दिएर अगाडि बढ्न सुझाव दिएका छन । ३ सिट प्रत्यक्ष जितेर बलियो देखिएको पार्टीलाई यो ४ सिटको समानुपातिक किचलोले कत्तिको क्षति पुर्याउँछ, त्यो भने आगामी केही दिनको निर्णयले स्पष्ट पार्नेछ।