काठमाडौं- आमसञ्चार विधेयकको विरोधमा पत्रकारहरूले संसद भवन परिसरमा धर्ना दिएका छन् । त्यसै क्रममा प्रहरी र पत्रकारबीच घम्साघम्सी भएको हो ।
कोशी प्रदेश सरकारले सदनमा पेस गरेको विधेयकमा पत्रकारलाई जरिबाना गर्ने प्रावधान राखिएपछि धर्ना दिएका हुन् । पत्रकार महासंघ लगायतका संघसंस्थाले विरोध जनाएका छन् । तर, प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो । कोशी प्रदेश सरकारले सदनमा पेस गरेको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विरोधमा पत्रकारले संसद् भवन परिसरमै धर्ना दिएका छन् ।
निषेधित क्षेत्र मानिने उक्त कोशी प्रदेशसभा भवनमा सभामुख प्रवेश गर्ने गेट छेउमै पत्रकारहरूले धर्ना दिएका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग केहीबेर घम्साघम्सी समेत भएको छ । संसदीय पत्रकार मञ्च कोशीले प्रदेशसभा परिसरमा धर्ना दिएको थियो भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशले संसद्को गेट अगाडि धर्ना दिएका छन् । प्रहरीले संसद् भवन परिसरबाट संसदीय पत्रकारलाई बाहिर निकालेपछि संयुक्त रूपमा गेट अगाडि शान्तिपूर्ण धर्ना दिइएका थिए । त्यहाँ पनि प्रहरीले हस्तक्षेप गरेपछि पत्रकारसँग धकेलाधकेल भएको हो ।
विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्ड जरिबाना गर्ने प्रावधान राखिएपछि पत्रकारले विरोध गरेका हुन् । यसैबिच पत्रकार महासंघ कोशी प्रदेश, प्रेस युनियन केन्द्रीय समिति, कोशी प्रदेश समिति, प्रेस सेन्टर कोशी प्रदेश समिति, संसदीय पत्रकार मञ्च कोशीलगायतले विज्ञप्ति जारी गर्दै विधेयकको विरोध गरेका छन् । प्रेस स्वतन्त्रता विरोधी प्रावधान राखेर ल्याउन लागेको सो विधेयक सच्याउनुपर्ने वज्ञप्तिमा माग छ ।