- रेशम पक्षले कारबाहीको डण्डा चलाउन खोजेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई
- अध्यक्ष रञ्जिता बिरामी भएको दाबी
- लिची बगैँचा काण्डले रञ्जिताको अध्यक्ष पद धरापमा
काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षबाट रञ्जिता श्रेष्ठ चौधरीलाई हटाउने अन्तिम तयारीमा थिए– संरक्षक रेशमलाल चौधरी । उनी पार्टीमा बहुमत केन्द्रीय सदस्यको नेतृत्व गर्छन् । रञ्जिता अल्पमतमा छिन् ।
पोखराको अमरदीपमा रहेको १३५ रोपनी जग्गा हडप्न घुस लिएको काण्डमा रञ्जिता मुछिएपछि त उनलाई हटाउन रेशम पक्षले आइतबार केन्द्रीय समिति बैठक बोलायो । ‘कागभन्दा कोइली चंखो’ भनेझैँ रेशम पक्षले हटाउनुभन्दा अघि नै रञ्जिताले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइन् । उनले आफू बिरामी भएको बताइन् ।
जबकि, यसअघि नै नाउपाका बहुमत सदस्यहरूले रञ्जितालाई केन्द्रीय समिति बैठक डाक्न मागसहित २४ घण्टे अल्टिमेटम दिएका थिए । यदि बैठक डाकेर पछिल्लो समय उठेका विषयमा चित्त बुझ्दो जवाफ नदिएमा बहुमतले कारबाही गरेर हटाउने उनीहरूको चेतावनी थियो ।
यहीबीच ८ साउनमा रेशमले फेसबुक पेजमा १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै पोखरास्थित लिची बगानको जग्गा हडप्न ‘घुस डिल’ गरेकोसहितका विषयमा पार्टी बैठक राखेर चित्तबुझ्दो जवाफ दिन माग गरेका थिए । यसप्रति रञ्जिताले रेशमको मागअनुसार बैठक डाक्नुको साटो बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू कारबाहीबाट जोगिने कोसिस गरेकी हुन् । यो उनको कारबाही छल्ने रणनीतिक प्रसास हो ।
यसक्रममा उनले भनेकी छन्, ‘मेरो स्वास्थ्य अवस्था बिग्रिएको छ । त्यसैले मैले पार्टीलाई समय दिन सक्ने अवस्था रहेन । यस विषम् परिस्थितिमा नागरिक उन्मुक्ति पार्टीको विधान २०७८ को धारा २० को उपधारा (९) बमोजिम यस पार्टीको वरिष्ठ नेता शिव वास्तोलालाई मेरो अनुपस्थितिमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नका लागि यो पत्रमार्फत् तोकिएको छ ।’
बाँस्तोलाले पार्टीका गतिविधिलाई सफलतापूर्वक अगाडि बढाउने भन्दै आफू भने विश्राममा रहेको उल्लेख गरेकी छिन् । रञ्जिताविरुद्ध भने संरक्षक रेशमले बहुमत केन्द्रीय सदस्यहरू जुटाएका छन् । यससँगै नागरिक उन्मुक्ति संकटमा परेको छ । रेशमपक्षीय नेता घनश्याम चौधरीका अनुसार रञ्जितालाई घुस काण्डको अडियो सार्वजनिकपछि पार्टी अध्यक्षबाट कारबाही गर्ने तयारी छ ।
‘पार्टी अध्यक्ष माननीय रञ्जिता श्रेष्ठ चौधरीको अडियो सार्वजनिक भयो, जहाँ घुसबारे कुरा छ र त्यसले पार्टीलाई गम्भीर क्षति पुग्यो,’ घनश्यामले भने, ‘त्यसो हुनाले हामी उहाँलाई हटाउन चाहन्छौं ।’कानुनीरूपमा जोगिन रञ्जिताले चलाखी गरेर कार्यवाहक दिएको अवस्थामा रेशमले भने पार्टी अध्यक्षमा अर्कै नेतालाई ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार उनले गंगा चौधरी वा बुवा कुलवीर चौधरीलाई अध्यक्षमा ल्याउने कोसिस गरेका छन् । उनै रेशमले लागेको घुसकाण्डबारेको आरोपबारे जवाफ दिन श्रीमती रञ्जितालाई भनेका थिए । रञ्जिताले जवाफ दिएकी छैनन् । उनले मिडियामा भने अस्वीकार गरेकी छन् ।
तर, उनी घुस प्रकरणमा मुछिएपछि पार्टीभित्रै दबाब झेलिरहेकी छन् । स्वास्थ्यको कारण देखाउँदै रञ्जिताले कार्यवाहक अध्यक्षको जिम्मेवारी भने बास्तोलालाई दिइन् । यो जिम्मेवारी भने राजनीतिमा प्रवेश गरेको छोटो समयमै शिवको काँधमा आइपरेको हो । उनले भने, ‘एकता नै प्रमुख मेरो एजेण्डा हो । मलाई रेशमपक्ष कि रञ्जितापक्ष भनेर धेरैले सोध्नुहुन्छ । तर म नाउपापक्षको हो । म दुवैको नेतृत्वमा समितिमा रहें ।’
पार्टीलाई सर्वस्वीकार्य बनाउन लाग्ने उनले बताए । लामो समय नेतृत्व गरौं भन्ने आफूलाई नभएको तर पार्टीचाहिँ बनाउनुपर्ने उनको भनाइ थियो । नाउपाको प्रमुख पदाधिकारीमध्येकै भूमिका पाएपछि शिव पछिल्लो समय काठमाडौंमा बस्न थालेका थिए । तराई, मधेसमा प्रभाव रहेको नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने शिव भने खासै प्रभाव नभएको पोखराका छन् । पार्टी विधानअनुसार भन्दै रञ्जिताले पोखराकै बास्तोलालाई जिम्मेवारी दिनु र लिचिबारी प्रकरण पनि पोखराकै भएकाले कतिपयले यसलाई जोडेर हेरेका छन् । त्यसमाथि शिवले पनि घरजग्गाको कारोबार गर्ने गरेका थिए ।
रञ्जिताले पनि श्रेष्ठ लेख्ने र शिवले पनि पोखराकै श्रेष्ठ विवाह गरेकाले अलि नजिकको दिदीभाइको जस्तो सम्बन्ध रहेको उनी बताउँछन् । तर बास्तोलाले भने लिचिबारी प्रकरण आफूले समाचार पढेपछि मात्रै थाहा पाएको बताए ।‘मैले पनि समाचार पढेर नै लिची बगैंचाबारे थाहा पाएको हुँ । त्यसभन्दा अगाडि कुनै पनि जानकारी थिएन र मैले जिम्मेवारी पाउनुसँग यसको कुनै सम्बन्ध पनि छैन,’ उनले प्रभावसँग भने ।