काठमाडौं - नेपाली कांग्रेसले मधेस प्रदेशमा खानेपानीको अभाव, सिँचाइको समस्या, किसानले समयमा मल र बीउ नपाएकालगायत विद्यमान समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा कृषिमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको पछिल्लो अवस्था बारेमा ‘ब्रफिङ’ गरेका थिए । कांग्रेसले तीनै तहका सरकार मिलेर मधेस प्रदेशमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधान गर्नुपर्ने, मल र बीउको नियमित आपूर्ति गर्नुपर्ने सुझाएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने अन्य मन्त्रीहरूले आआफ्नो मन्त्रालयले गरेका कामका बारेमा ब्रिफिङ गरेका थिए । त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले रुपन्देहीमा निकट भविष्यमा हुने उपनिर्वाचन र मतदाताको अवस्थाका बारेमा अवगत गराएका थिए ।
बैठकमा सङ्घीय सरकारका मन्त्री हेरफेर हुनेसम्बन्धी सार्वजनिक भएको विषयका सम्बन्धमा कुनै छलफल नभएको सहमहामन्त्री परियारले बताए । सभापति देउवाको अध्यक्षामा भएको बैठकमा पार्टीका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको उपस्थिति थियो ।