काठमाडौं- साताको चौथो दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकल अङ्कले बढेर ३००० विन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक ९.६१ अङ्कले बढेर २९८३.३१ विन्दुमा पुगेको छ । मङ्गलबार बजारमा झण्डै ८९ अङ्कको सुधार देखिएको थियो । बजारमा आज ३१९ वटा स्क्रिपका ४ करोड ४८ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यसबाट कुल १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र नेपाल इन्फास्ट्रक्चर बैंकको उच्च कारोबार भएको छ ।
समग्रमा परिसूचक बढे पनि आज बजारमा घट्ने कम्पनीको सङ्ख्या बढी रह्यो । कारोबारमा आएका मध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्यमा घटेको छ । यसले बजारको वृद्धि केही ठुला पुँजी भएका कम्पनीमा मात्र भएको देखाएको छ । सबैभन्दा धेरै वृद्धि फाइनान्स समूहमा ३.४३ प्रतिशत देखिँदा हाइड्रोपावर, लगानी तथा अन्य समूहका सूचक समेत एक प्रतिशत भन्दा धेरैको सुधार देखिएको छ ।