काठमाडौं - काठमाडौं महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो । महानगरको विद्युतीय प्रणालीले भार थेग्न नसक्दा सेवा प्रवाह ठप्प भएको छ । महानगरका एक कर्मचारीका अनुसार आन्तरिक वायरिङमा समस्या आउँदा विद्युत् प्रणाली रोकिएको हो ।
‘प्लाजामा रहेको महानगरको कार्यालय रहेको भवन पहिले दुई वटा छुट्टाछुट्टै बिल्डिङको रूपमा सञ्चालनमा थियो । अहिले जोडेर एउटै कार्यालय बनाइएको हो । पहिले प्लाजामा बस्नेहरूले आ–आफ्नो आवश्यकता अनुसार छुट्टाछुट्टै वायरिङ गरेकोमा हाल एउटै कार्यालय सञ्चालन हुँदा विद्युत् भार बढेको थियो,’ ती कर्मचारी भन्छन् ।
हिजो भुक्तानीको अन्तिम दिन कार्यालयमा ढिलोसम्म काम हुँदा कम्प्युटर, एसी, र बत्तीहरू एकैसाथ चल्दा पुरानो वायरिङ प्रणालीले लोड धान्न नसकेको उनले भने । ‘विद्युतीय लोड ब्यालेन्स नमिलेर समस्या आएको हो ।’ हाल प्राविधिक टोलीले वायरिङ मर्मतको काम गरिरहेको र छिट्टै नै कार्यालयको काम पूर्ण रूपमा सुचारु हुने उनले जानकारी दिए ।