काठमाडाैं - रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएको जानकारी दिए ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।
बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।
बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ ।