वासिङ्टन-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएको छ । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।
इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौता रहनेछ ।
आइतबार ट्रम्पलेसम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए । “हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उनले पत्रकारहरूसँग भने ।
नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।
झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् । नेतन्याहूले भने, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”यसअघि उहाँले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए ।