काठमाडौँ - पवित्र कैलाश मानसरोवर यात्राका लागि नेपाली तीर्थयात्री तथा ट्राभल एजेन्सीहरूलाई भिसा प्राप्तिमा आइरहेका चुनौतीहरू समाधान गर्न उच्चस्तरीय बैठक सम्पन्न भएको छ। हिन्दु, बौद्ध, जैन र बोन अनुयायीहरूका लागि अत्यन्त श्रद्धेय मानिने कैलाश पर्वतलाई भगवान शिवको वासस्थल मानिन्छ भने मानसरोवर ताल आत्मा शुद्ध गर्ने पवित्र स्थलका रूपमा चिनिन्छ।
यात्रा नेपाली तथा चिनियाँ साझेदारहरूको संयुक्त समन्वयमा सञ्चालन हुँदै आएको छ, जसले धार्मिक कूटनीति र सीमापार पर्यटन सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गर्दै आएको छ। तर पछिल्लो समय यात्रा सञ्चालनमा भिसा प्रक्रिया पेचिलो हुँदै गएपछि नेपाली पक्षले समाधान खोज्न उच्च तहमा छलफल गरेको हो।
परराष्ट्र सचिव अमृतबहादुर राई, सहसचिव भृगु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्ड सदस्य तथा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, टान अध्यक्ष सागर पाण्डे, पाटा महासचिव नरेन्द्रदेव भट्ट र ईओएन महासचिव ऋषि भण्डारीको उपस्थिति रहेको उक्त बैठकमा व्यावहारिक र कूटनीतिक माध्यमबाट भिसा प्रक्रिया सहज बनाउने उपायहरूबारे विस्तृत छलफल भएको थियो।
बैठकमा बोल्दै सरोकारवाला अधिकारीहरूले कैलाश मानसरोवर यात्रा नेपालका लागि धार्मिक मात्र नभई पर्यटन प्रबर्धनको महत्वपूर्ण आधार भएकाले यसको सहजता कायम राख्न परराष्ट्र मन्त्रालयले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन्। नेपाल सरकारसँग कूटनीतिक तहमा चिनियाँ पक्षसँग समन्वयलाई थप मजबुत बनाउँदै भिसा प्रक्रिया सरल, पारदर्शी र तीर्थयात्रीमैत्री बनाउनेतर्फ ध्यान दिन सरोकारवालाहरूको आग्रह रहेको छ।
निष्कर्षस्वरूप, धार्मिक पर्यटन प्रवर्द्धन तथा नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन कैलाश मानसरोवर यात्राको अवरोधरहित सञ्चालन अत्यन्त आवश्यक भएको बैठकमा सहभागीहरूको धारणा रहेको छ।