शनिबार राति उज्बेकिस्तान र नेपाली महिला टोलीबीचको एसिया कप छनोट प्रतिस्पर्धा रोमाञ्चक थियो । कारण– नेपाल एसिया कप छनोटका लागि आफूभन्दा दोब्बर बलियो टोलीसँग टक्कर लिएर खेलिरहेको थियो । खेलको सुरुआती चरणमा विपक्षीले नेपाली टोलीलाई अच्छुअच्छु पारेको थियो । कतिसम्म भने दोस्रो मिनेटमै नेपालले गोल खानुपरेको थियो । एवं रुपले १०औं मिनेटमा नेपालमाथि अर्को गोल थपियो । २४औं मिनेटमा नेपालले एक गोल फर्काएपछि ३९औं मिनेटमा फेरि पेनाल्टीबाट उज्बेकिस्तान नेपालमाथि हाबी भयो ।
तर उज्बेकिस्तानका एकजना खेलाडी रातो कार्ड पाउँदै बाहिरिएपछि नेपाली टोलीले राहत पायो । सदाबहार हिरो साबित्रा भण्डारी ‘साम्बा’ले तीन गोल गरेपछि नेपाली बल्ल हौसिए । निर्धारित समयमा बराबरी खेल खेलेपछि खेल पेनाल्टी सुटआउटमा गयो । उज्बेकिस्तानको तास्केन्तमा भएको खेल धेरैले उज्बेकिस्तान एफए युट्युब च्यानलबाट प्रत्यक्ष हेरिरहेका थिए । यो खेल जितेमा नेपालले महिला एसिया कपमात्र हैन, फिफा महिला विश्वकप २०२७ र अमेरिकाको लस एञ्जलस ओलम्पिक २०२८ को अवसरसमेत पाउने थियो । त्यसैले पनि नेपालीहरुको ढुकढुकी बढेको थियो ।
पेनाल्टी सुटआउट कप्तान साम्बाबाटै सुरुआत भयो नेपालको । तर, दुर्भाग्य उनको प्रहार पोलमा लागेर फर्कियो । उज्बेकिस्तानबाट चौथो गोल हुँदा नेपालकी गोलकिपर अञ्जना रानामगरको प्रहार उज्बेकिस्तानकी गोलरक्षकले रोकिन् । त्यसपछि ४–२ अन्तरले नेपाल पराजित हुनुप¥यो । समग्रमा नेपालको खेल उत्कृष्ट र उत्साहजनक रह्यो । श्रीलंका र लाओसलाई फराकिलो अन्तरले हराउँदै फिफा ¥याङकिङमा ५१ मा रहेको उज्बेकिस्तानसँग १००औं स्थानमा रहेको नेपालले दिएको टक्कर लोभलाग्दो थियो । यसमा जितको निकै नजिक पुगेर फर्किनु परेकोले हो, चुकचुकाउनु परेको । हिम्मत हार्नु हुन्न, यसरी नै लगाव जारी राखे एकदिन जित अवश्य हुने छ ।
यसमा नेपाली टोलीको व्यवस्थापन टोलीको विवाद, खेलाडी चयनको सन्दर्भमा केही त्रुटि देखिन्छ । यद्यपि यस्तो अवस्थामा पनि नेपाली महिला टोलीको यो स्तरको खेललाई तारिफ गर्नैपर्छ । जितको नजिक पुगेर पनि रित्तो हात फर्कंदा कस्तो हुने रहेछ भन्ने विषय नेपालले यसपटक भोगेको छ । यसैले पनि अबका दिनमा पूर्णतयारीमा लाग्नु र सक्दो विवादरहित बनाउनु नेपाली व्यवस्थापन पक्षले ध्यान दिनैपर्ने देखिएको छ ।