काठमाडौं - राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गरेकाे छन् । विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले बजेट सन्तुलित नभएको टिप्पणी गरे । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उहाँको आरोप छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिए । साथै उहाँले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाए । विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि छलफलमा जारी छ ।
छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्छ भने ।जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गरे । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताए ।