विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गरेको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुने भएको छ ।
छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए ।
विशेष समय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको स्पष्ट पारे ।
सो समयमा बजेटको आकार ठूलो भएकाले जिल्ला जिल्लामा जाने बजेट पनि ठूलै भएको धारणा राख्दै नेता राईले अहिलेको सरकारले सदनमा प्रस्तुत गरेको तथ्याङ्क र अनुमान गलत छ भने। उनले कानुनसँग नमिल्ने र भविष्यमा प्रभावित पार्न सक्ने योजना तथा नीतिका विषयमा आफू जानकार रहेको प्रष्ट पार्दै सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली विधेयक बजेट अधिवेशनमै छिनोफानो गर्नुपर्ने कुरामा जोड दिए।
शून्य समय
कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने समयमा किसानले सहज ढङ्गले मल नपाएको र कसैले पाइने हालेमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म किसानले भोग्ने सरकारसँग प्रश्न गरे ।
अर्की सदस्य सपना दर्जीले विपद्पछि सरकारले वितरण गर्ने राहत, उद्धार र खोजका निम्ति सरकारले पूर्वतयारी जनस्तरसम्म गर्नुपर्ने ध्यानाकर्षण गराए । उनले यसका लागि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर विपद् आउनुअघि पूर्णतयारी भएर बस्नुपर्ने धारणा राखे ।